धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् ।
आईतबार प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको समर्थनमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ ।
यसअघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीका लागि कांग्रेसभित्र दलका नेता शाहलगायत बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा र दिवानसिंह विष्ट आकांक्षी रहेका थिए । केन्द्रको निर्देशन अनुसार शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।
शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी विसं २०७९ मा भएको आमनिर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं २ क बाट निर्वाचित भएका थिए । यसअघि विसं २०७९ माघ २७ गते नेकपा माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादीको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा कांग्रेस र एमालेसहितको सत्ता गठबन्धन बनेपछि अल्पमनमा परेका सोडारीले यही साउन १८ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखद्वारा आह्वान भए अनुसार आज दिउँसो शाहले दाबी पेस गरे ।
मुख्यमन्त्रीका लागि ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar