काठमाडौँ – अभिनेत्री वर्षा राउतले रंगमञ्चमा डेब्यू गर्ने भएकी छन् । उनले विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदै छ’ मार्फत रंगमञ्चमा डेब्यू गर्ने भएकी हुन् । नाटकलाई विमल सुवेदी र जोयश पाण्डे मिलेर लेखेका हुन् । जोयश चलचित्र ‘साँघुरो’का निर्देशक हुन् । वर्षासँगै उनै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने नाटक ‘हिटलर आउँदै छ’ को मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त व्यक्तिहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा आतिथ्यता ग्रहण गर्न उपस्थित तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन् । यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कलाक्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए ।
कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक विमल सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लन्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण भएको बताए । उनले भुटानबाट राजनीतिक रूपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको जानकारी दिए ।
नाटक ‘हिटलर आउँदै छ’ ले मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताए । ‘म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ । यही सिद्धान्त प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौँ । यही क्रमको निरन्तरताको रूपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रूपमा लिएका छौँ’, उनले भने ।
दर्जनौँ चलचित्रमा अभिनय गरेकी वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छन् । हाल रिहर्सल चलिरहेको सो नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको उनले बताइन् । ‘नाटकबाट आएको धेरै कलाकारसँग चलचित्रमा काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिलेदेखि नै थियो । तर, यो अवसर यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु । मेरा पहिलो नाटक नै नेपालका उत्कृष्ट नाट्य निर्देशक तथा प्रशिक्षक विमल सुवेदीसँग, त्यो पनि अमेरिकाबाट हुनु चानचुने संयोग होइन ।
साथै नेपालका उत्कृष्ट निर्देशक जोयश पाण्डेसँगसँगै नाट्ययात्रा सुरु गर्नुले मलाई उत्साहित बनाएको छ । यो नाटकबाट धेरै कुरा पाउनेमा म विश्वस्त छु’, उनले भनिन् । नाटक २३ अगस्टबाट ओहायोको एक्रोनमा मन्चन भएर यसको वल्र्ड प्रिमिएर हुनेछ र यसलाई अमेरिकाकै विभिन्न स्थानलगायत विश्वका अन्य देशमा मञ्चन गरिनेछ । नाटकलाई नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका एक पहलकर्ता आकाश खतिवडाले बताए । अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा रहेको छ । नाटकमा नेपाल, भुटान तथा अमेरिकालगायत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar