काठमाडौं – फुटपाथ विस्तारको विषयलाई लिएर काठमाडौंको न्युरोड क्षेत्र तनावग्रस्त बनेको छ । आज (शुक्रबार) दिउँसो स्थानीय र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच धकेलाधकेल भएको छ ।
न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको हो । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो । यसअघि पनि न्युरोडका फुटपाथ विस्तारलाई लिएर मेयर बालेन शाह र २२ नम्बरका वडाध्यक्षबीच बैठकमै विवाद भएको थियो । सो बेला सडक विभागले सडक विस्तारको काम रोक्न भन्दै काठमाडौं महानगरलाई पत्राचार गरेको थियो ।
त्यसविरुद्ध महानगर उच्च अदालत पाटन पुगेको थियो । उच्चले फुटपाथ निर्माणको अधिकार महानगरकै भएको भन्दै सडक विभागको पत्र कार्यान्वयन नगर्न आदेश गरेसँगै सोमबारदेखि महानगरले पुनः फुटपाथ निर्माणको काम थालेको थियो ।
शुक्रबार भने स्थानीय र नगरप्रहरीबीच झडप भएको हो । नगरप्रहरी र स्थानीयबीच झडप भएपछि प्रहरी परिचालन गरिएको छ । सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग स्थानीयले राखेका छन् । महानगरपालिकाको २२ नम्बर वडाध्यक्ष चिनकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar