आठबिसकोट – बाढीका कारण रुकुम पश्चिमका भूकम्पपीडितको उठिबास भएको छ । गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट घर भत्किएपछि टिनको टहरा बनाएर बस्दै आएका भूकम्पपीडितको बाढीले टहरा नै बगाएपछि उठिबास लागेको हो ।
बाढी बस्तीमा पसेर भूकम्पपीडितको अस्थायी टहरा बगाएपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका–११ र १२ का ६० घरपरिवार विस्थापित भएका छन् । गिजागाड खोला र तातोपानीमा आएको बाढीका कारण यहाँका ६० घरपरिवार विस्थापित भएका हुन् । वडा–१२ को झिन्चौरका ४० घरपरिवार र वडा–११ को सिमबजारका २० घरपरिवार बिस्थापित भएका छन् ।
झिन्चौर र सिमबजारका करिब ८० घर बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण ठूलो मानवीय क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झिन्चौरका विस्थापित घरपरिवारलाई सोही ठाउँमा रहेको कर्णाली बेभरेज इन्डस्ट्रिज प्रालिको परिसरमा सारिएको र सिमबजारका बिस्थापित राडी बजार र गोइरीमा बसेका छन् । बाढीपहिरोबाट प्रभावितहरू आफन्तको घरमा सरण लिएर बसेका छन् ।
बाँफीकोट गाउँपालिका तर्फको बास्तला, नदुवा, सिसिपातल र डाब सडक निर्माण गर्दा थुप्रिएको माटो ढुंगा गिजागाड खोलाले बगाउँदा उक्त खोलामा ठूलो बाढी आएको थियो । यस्तै झिन्चौरको तातोपानीमा भूकम्पले चर्किएको पहाड फुटेर पहिरो आउँदा मानवीयसँगै भौतिक क्षति भएको छ । निरन्तरको वर्षाका कारण सोमबार राती आएको बाढीमा परेर ३ जना बालिकाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । बाढीकै कारण ७ जना घाइते भएका छन् ।
त्यस्तै जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडितको अस्थायी टहरामाथि पहिरो खस्दा ४ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा, उनकी ४ वर्षीय छोरी हस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेकी छन् ।
मंगलबार राति स्थानीय दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामाथि पहिरो खसेको जाजरकोट प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि सुर्खेत पठाइएको जाजरकोट प्रहरी प्रमुख, डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar