काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार छलफल भएको छ । ओलीलाई भेट्न देउवा पत्नी आरजु राणा देउवासहित ओली निवास बालकोट पुगेका थिए ।
देउवा र ओलीबीच बालकोटमा करिब ३ घन्टा छलफल भएको बताइएको छ । प्रमुख प्रतिपक्षी दलका नेता देउवा र सत्ता गठबन्धनको सबैभन्दा ठुलो घटक एमाले अध्यक्ष ओलीबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीच भेटघाट भएको हो । विगत केही दिनदेखि दुवै दलका दोस्रो तहका नेताहरू लगातार वार्तामा थिए । दोस्रो तहका नेताहरूबीचको वार्ताले सकारात्मक परिणाम निकाल्ने देखिएपछि यो शीर्ष तहमा छलफल भएको नेताहरूको दाबी छ ।
भेटमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा छलफल भएको बताइएको छ । कांग्रेस र एमाले निर्वाचन प्रणाली सुधारको पक्षमा छन् । देशको समृद्धिका लागि प्रमुख दुई दल मिल्नुपर्ने बहस पनि चलिरहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धान दिवस मनाउन चितवन पुगेका बेला देउवा र ओलीबीच भएको भेट अझ अर्थपूर्ण रहेको राजनीतिक जानकारहरू बताउँछन् । वर्तमान सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट हटाउन कांग्रेस प्रयासरत छ ।
यस्तै, नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणको फाइल फेरि खोलेर आरोपितहरू पक्राउ गर्न थालेसँगै नेपाली राजनीति थप तरंगित छ । एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र बिचौलिया बेचन झा पक्राउ परिसकेका छन् । सो प्रकरणमा देउवापत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम पनि मुछिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar