काठमाडौं – आइसिसी विश्वकप टी– २० क्रिकेट २०२४ अन्तर्गत समूह ‘डी’ को चोथो तथा अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले हारेको छ । यो हारसँगै नेपाल समूह चरणबाट जितविहिन भएको छ ।
साथै, नेपाल बंगलादेशसँग दश वर्षअघि हारेको बदला लिनबाट समेत चुकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि १०७ रनको लक्ष्य दिएको थियो । तर, यस खेलमा बंगलादेशसँग दश वर्षअघि हारेको बदला लिने दाउमा नेपाल रहेको थियो ।
१० वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।
नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ । नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको हो ।
बंगलादेश अब सुपर ८ मा भारत, अफगानिस्तान, अष्टे«लिया रहेको समूह ए मा रहनेछ । बंगलादेशले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै ८५ रनमै अलआउट भयो । नेपालका लागि कुशल मल्लले बनाएको २७ रन नै सर्वाधिक रह्यो । दीपेन्द्र सिंह ऐरीले २५ रन थपे ।
एक समय ६.६ ओभरमा ५–२६ को संकटपूर्ण अवस्थामा रहेको नेपालका लागि छैटौँ विकेटका लागि कुशल र दीपेन्द्रसिंह ऐरीले ५२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । १७औँ ओभरको चौथो बलमा कुशल मल्ल क्याच आउट हुन पुगे । कुशलले ४० बलमा १ चौका र १ छक्का सहयोगमा २७ रन बनाउँदा मुस्ताफिजुर रहमानको बलमा नज्मुल होसैनको बलमा क्याच आउट भए ।
१९औँ ओभरको अन्तिम बलमा ऐरी २५ रन बनाउँदा क्याच आउट भए । उनले ३१ बलमा २ चौका र १ छक्का हाने । बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा भने सम्हालिन सकेन । बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् ।
सन्दीप जोरा १ रनमा क्याच आउट भए । छैटौँ ओभरको चौथो बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमायो । १४ बलमा ४ चौका मद्दतमा १७ रन बनाएका ओपनर आशिफ मुस्ताफिजुर रहमानको बलमा सकिब अल हसनको हातबाट क्याच आउट भए ।
पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १ रन बनाउँदा क्याच आउट भए । नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो । तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएको थियो ।
बंगलादेशका लागि तान्जिम हसन सकिब नेपालविरुद्ध घातक बने । उनले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र ७ रन दिदा ४ विकेट लिए । मुस्ताफिजुर रहमानले तीन विकेट लिए । सकिब अल हसनले दुई तथा तास्कीन अहमदले एक विकेट लिए ।
त्यसअघि वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बल अगावै १०६ रन बनाउँदा अलआउट भयो ।
बंगलादेशका लागि सकिब अल हसनले बनाएको १७ रन नै सर्वाधिक रह्यो । महम्मदुल्लाह र रिसद हुसैनले समान १३ रन बनाए। जाकर अलीले १२ र लिटोन दासले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालले सुरुवात देखि नै बंगलादेशलाई दबाबमा राखेको छ। नेपाली बलरहरु घातक बन्दा सुपर ८ मा पुग्न नेपाललाई जित्नै पर्ने दबाबमा रहेको बगंली टोलीका ब्याटरहरु नेपाली बलरसामु लामो समय क्रिजमा टिक्न सकेका छैनन् ।
तीव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए ।
सोमपालले नै पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउ गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए ।
अलराउण्डर दीपेन्द्र सिंह ऐरीले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए ।
मोहम्मदुल्लाह नवौ ओभरको अन्तिम बलमा रन आउट भए । १३ रन बनाएका उनलाई सन्दीप लामिछानेको बलमा गुल्सन झाले रन आउट गराए । कप्तान रोहितले १२औँ ओभरको चौथो बलमा सकिब हल हसनलाई १७ रन बनाउँदा एलबीडब्लु धरापमा पारे ।
यसअघि पाचौँ ओभरको चौथो बलमा कप्तान रोहित पौडेलले ९ रन बनाएका तोहिद ह्दोयलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए ।
सन्दीप लामिछानेले चौधौँ ओभरको दोस्रो बलमा तान्जिमलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाएका हुन् । तान्जिम अल हसनलाई बोल्ड आउट गर्दै सन्दीपले टी–२० आईमा ९९ विकेट लिएका हुन् । सन्दीपले १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिर्दै टी–२० आईमा १ सय विकेट पूरा गरे ।
टी–२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने सन्दीप विश्वका दोस्रो खेलाडी हुन् । यसअघि रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए। सन्दीपले यो कीर्तिमान ५४औँ खेलमा आएर पूरा गरे । नेपालका लागि भने १ सय विकेट लिने सन्दीप पहिलो खेलाडी हुन् । १८औँ ओभरको पहिलो बलमा रिसद हुसैनलाई १३ रन बनाउँला क्याच आउट गरे ।
उनले नै अन्तिम ओभरको तेस्रो बलमा मुस्ताफीजुर रहमानलाई रन आउट बनाउँदै बंगलादेशलाई अलआउट गरेका हुन् । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सोमपाल कामी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २ विकेट लिए ।
आजको खेलमा नेपाललाई बंगलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर थियाे तर चुक्याे । नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar