काठमाडौँ – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो, भने १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो । विभागका अनुसार चालु आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ ।
यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ ।
नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । दश महिनामा चीनसँग दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ । वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ ।
यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैंची छ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड बराबर छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar