काठमाडौँ – काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ ।
सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको संख्यामा बेरोजगार युवाहरू सीप सिक्न दैनिक आइरहेका छन् । महानगरका अनुसार यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फारम भरेका छन् ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सीप मेलाको आयोजना गरेको थियो । १ महिनामा २ हजार ८१ जनालाई निःशुल्क तालिम दिने लक्ष्यसहित सीप मेला आयोजना गरिएको थियो ।सीप सिक्न सयौँ बेरोजगार युवा दैनिक आउन थालेपछि अहिले टुँडिखेल भरिभराउ हुने गरेको छ । फुर्सदको समय कटाउने थलोका रूपमा रहेको टुँडिखेललाई सीप मेलाले सिकाइको केन्द्रमा परिणत गरेको सीप सिक्न आएका दोलखाका प्रजय गोलेले बताए । उनले भने, ‘सीप मेला सुरु भएपछि अहिले यहाँको रौनक फेरिएको छ, मैले पनि कम्प्युटर हार्डवेयर र नेटवर्किङ सिक्दै छु ।’
१ महिनासम्म सञ्चालन हुने सीप मेलामा सिकर्मी, प्लम्बिङ र प्राविधिकलगायत १० क्षेत्रमा ३० प्रकारका सीप निःशुल्क सिकाइरहेको काठमाडौँ महानगरपालिकाका सहरी योजना सदस्य एवं सीप मेला निर्देशक समिति सदस्य शैलेन्द्र झाले बताए । ‘सीप मेलामा हामीले सूचना प्रविधिको क्षेत्रमा डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर र नेटवर्किङ, ग्राफिक डिजाइन र सिसिटिभी क्यामेराबारे सिकाउन थालेका छौँ’, उनले भने, ‘हस्पिटालिटी क्षेत्रमा पाककला, बेकरी, बरिस्टा, बार टेन्डिङ, वेट्रेसिङ सिकाउँदै छौँ ।’
मेलामा अटो मोबाइल्स क्षेत्रमा विद्युतीय कार मर्मत, विद्युतीय मोटरसाइकल र स्कुटर मर्मत, विद्युतीय अटो, एअर कन्डिसन मर्मतको सीप सिकाउने गरिएको छ । त्यसैगरी, कला र संस्कृति क्षेत्रमा कला र स्कल्प्चरको तालिम दिइनुका साथै निर्माण क्षेत्रमा सिकर्मी, इलेक्ट्रिसियन, टायल, मार्बल फिटिङ र प्लम्बिङजस्ता व्यावहारिक सीप सिकाइएको झाले बताए ।
मेलामा सीप सिक्नका लागि यही वैशाख १५ गतेसम्म ६ हजार ४०० जनाले फारम भरेका थिए । अहिले पनि फारम भर्नेको दिनहुँ भिड लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरद्वारा सञ्चालित रोजगार आय वृद्धि गौरवको आयोजना भएकाले सीप मेला भइरहने आयोजकले जनाएको छ ।
सीप मेला निर्देशक समिति सदस्य झाका अनुसार टुँडिखेलमा सीप मेलामा अहिले गार्मेन्टतर्फ टेलरिङ, ड्रेस मेकिङ र फेसन डिजाइन, ब्युटिसियन अर्थात् शृंगार क्षेत्रमा मेकअप आर्ट, नेल आर्ट, आइलेस आर्ट, कपाल काट्ने तालिम स्टाइलिङ र सैलुनको सीप सिकाइँदै छ । त्यसैगरी, मेकानिकलतर्फ फ्रिज र एसी मर्मत तालिम, वेल्डिङ तालिम, डिजाइन क्षेत्रमा साइन मेकिङ र पुरोहित क्षेत्रमा पुरोहित अध्ययन तथा ज्योतिष शास्त्रको सीप सिकाइएको छ ।
मेलाले सीप प्राप्त गर्न र नयाँ अवसर खोज्न अवसर दिएको निःशुल्क सीप सिकिरहेका दार्चुलाका मणिराम धामीले बताए । ‘कतिपय तालिमहरू हामीले पैसा तिरेर पनि पाउन सकेका थिएनौँ, यहाँ आएर निःशुल्क सिक्न पाएका छौँ, हाम्रा लागि यो नै ठुलो कुरा हो, सीप सिकेर हामी रोजगार बन्नेछौँ,’ उनले भने ।मेलामा सीप सिक्न आएकामध्ये अधिकांशले सोसल मिडिया मार्केटिङ, मोबाइल मर्मतलगायत प्राविधिक क्षेत्रमा चासो देखाएका छन् । तालिम पाएका सबैलाई स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएकोे छ ।
विदेशमा हस्पिटालिटी क्षेत्रमा राम्रो अवसर भएको र नेपालमा पनि राम्रा होटल, रेस्टुरेन्ट, क्याफेमा पाककलामा निपुण जनशक्तिको हस्पिटालिटी क्षेत्रमा माग बढी भएको होटल व्यवस्थापनका शिक्षक तथा सीप मेलाका बेकरी प्रशिक्षक निरञ्जन मानन्धरले जानकारी दिए । सीप मेलामा सीप सिक्न इच्छुक सबैले नागरिकताको प्रतिलिपिसँगै आवेदन फारम भर्नुपर्ने तथा त्यसपछि बिहान, दिउँसो र बेलुका आफ्नो समयअनुसार तालिम लिने समय छान्न सकिने व्यवस्था छ ।उच्च माग भएका क्षेत्रमा निःशुल्क तालिम उपलब्ध गराएर महानगरले नागरिकलाई रोजगार बजारमा प्रतिस्पर्धा गर्न आत्मविश्वास र योग्यता प्रदान गर्ने क्षमताको विकास गर्न थालेको काठमाडौैं महानगरका प्रशिक्षण तथा मेला संयोजक देवेन्द्र केसीले बताए ।
उनले भने, ‘निःशुल्क सीप तालिम प्रदान गरेर महानगरले बेरोजगारलाई रोजगारीको अवसर दिन र आर्थिक वृद्धिमा योगदान पु¥याउन सशक्त बनाउँदै छ । बेरोजगारका लागि यो राम्रो अवसर हो ।’ चालु आर्थिक वर्षमा १५ हजारलाई सीपमूलक तालिम दिने र ५ हजारलाई रोजगारी दिने महानगरको लक्ष्य छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar