काठमाडौं – नेपाली काँग्रेसका सांसद विनोद चौधरीको परिवारले हत्याएको बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा आएको छ ।
शुक्रबार, भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको बाँसबारी छालाजुत्ता कारखानाको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो । भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले मालपोत ऐनको दफा २४ अनुसार हामीले उक्त जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएको बताए ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कब्जा तथा हडपेका सरकारी जग्गालाई सरकारीकरण गर्ने अभियानमा सरकारले काम शुरु गरेको बताए । उनले राज्यको सम्पत्ति विभिन्न नाम र कोणबाट विभिन्न तरिका अपनाएर व्यक्ति वा कम्पनीको नाममा लगेर व्यक्तिगत अनकुलतामा ढाल्ने प्रशस्त कार्यहरू भएको देखिएको बताए ।
उनले सरकारले प्रमाण भेटिएका र राज्यको जग्गा हडपेका जग्गाहरूलाई सरकारीकरण गर्ने अभियानलाई सार्थक बनाउन भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार कार्यालयले बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपानी जग्गा सरकारीकरण गरिएको बताए । उनले च्यापेन फुटवेयर कम्पनीको नाममा गएको जग्गा नामसारी वा सरकारले निर्णय गरेको कुनै प्रमाण नभेटिएको र अन्य प्रक्रियाहरू पनि भरपर्दो नभएकाले मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको नाममा ल्याएको बताए ।
मालपोत कार्यालयले यो जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालेपछि चाँदबाग रेसिडेन्सीका मालिक अरुण चौधरीले सर्वोच्च अदालतमा निवेदनसमेत दिएका थिए । चौधरीलाई सीआईबीले सरकारी जग्गा हत्याएको आरोपमा पक्राउसमेत गरेको थियो । यही प्रकरणमा कांग्रेस सांसद तथा सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग सीआईबीले बयानसमेत लिएको थियो । यो जग्गामा निजी लगानीको विद्यालय सञ्चालन भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar