काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट बर्खास्त गर्न माग गरेका छन् ।
आज सोमबार अध्यक्ष केसीले एक विज्ञप्ति जारी गर्दै लामिछाने गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने भन्दै तुरुन्त बर्खास्त गर्न माग गरेका हुन् ।
‘सूर्यदर्शन सहकारीका वचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा सहकारीका पदाधिकारीसँगै रवि लामिछानेविरुद्ध पनि जाहेरी दिएका छन् । लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयकै उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुन्छ । त्यसबाट सहकारीका पीडित बचतकर्ताहरुलाई अन्याय हुन जानेछ ।’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केसीले, लामिछानेले राजीनामा दिनुपर्ने कांग्रेसको मागमा पनि समर्थन जनाएको छ । ‘नेपाली कांग्रेसले सहकारीको रकम ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा त्यो कार्यको कडा विरोध गरेको छ । नेकाले गृहमन्त्रीको राजीनामाको लागि उठाएको मागलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ’, केसीले भनेका छन् ।
उनले सहकारी ठगीको आरोपमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाउँदा हजारौँ सहकारीका बचतकर्ता माथि अन्याय भएको बताएका छन् ।
‘रवि लामिछानेलाई गृहमन्त्रीको पदबाट हटाएर सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गराउन तथा दोषीलाई कडा सजाय गर्नका लागि प्रभावकारी कदम उठाउन सरकारसँग माग गर्दछौँ’, अध्यक्ष केसीले भनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar