काठमाडौं – नेपाली काँग्रेसका केन्द्रिय सदस्य गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
लामा विरुद्ध व्यवसायी ज्ञानेन्द्र खड्कालाई अपहरण गरी बन्धक बनाएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको हो । उजुरीमा लामासहितको समूहले ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको र लन्डन हाउस होटलमा लगी बन्धक बनाएको भनी उल्लेख गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले जनाएको छ ।
एसपी रवीन्द्र रेग्मीका अनुसार लामा बीरुद्धको जाहेरीमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।
खड्काले बुधबार जारी गरेको विज्ञप्तिमा पनि आफूलाई बन्धक बनाएर गणेश लामाले ‘तँ सँग कति बिटक्वाइन छ, तुरुन्त हाम्रो एकाउन्टमा ट्रान्सफर गर’ भनेको उल्लेख गरेका छन् ।
त्यस्तै ‘मोबाइल र ल्यापटप कब्जा गरेर हेर्दा पनि केही नभेटिएपछि जबरजस्ती करकापमा पारेर मलाई २० करोड रुपैयाँको कागज गराइएको हो, उनीहरुको उद्देश्य मसँग क्रिप्टो र विटक्वाइन छ र सबै ट्रान्सफर गरौं भन्ने हो’, विज्ञप्तिमा भनिएको छ, ‘म पुलिसकोमा जाने हिम्मत पनि गर्दिन भन्ने उद्देश्यका साथ गिरोह नै लागेर योजनाबद्ध रुपमा मलाई अपहरण गरिएको हो ।’ उनले भनेका छन् ।
पहिले ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले आफू लामाको अपहरणमा परेको घटना समयमा सार्वजनिक गर्न नसकेको समेत खड्काले बताएका छन् । ‘यहाँबाट निस्किएर घर परिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गर्ने गरेकाले दिमागी रुपमा समेत ठूलो असर पुर्याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो, त्यसैले आज सबै कानुनी प्रक्रिया सकेएपछि हिम्मत जुटाएर लेख्दैछु ।’ विज्ञप्तिमा भनिएको छ ।
खड्का ई – कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक हुन् भने क्रिप्टोकरेन्सी कारोबारमा समेत जोडिएका व्यक्ति रहेको प्रहरी श्रोतले जनाएको छ ।
त्यस्तै लामा सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् भने उनी गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्तिका रुपमा चिनिन्छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar