काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरू पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न भैरहवा पुगेका छन् । पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा.धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन् ।
उनीहरू तीन वटा फरकफरक उडानबाट गएको बुझिएको छ । मिश्र र तामाङ एउटा फ्लाइटबाट, राणा र सिंह अर्को फ्लाइटबाट सँगै गएका थिए । अध्यक्ष लिङ्देन भने काठमाडौंमा आफ्ना भेटघाटहरू सकेर एक्लै गएका हुन् ।स्रोतका अनुसार पूर्वराजाबाटै उनीहरूलाई बोलावट आएको थियो । भेटघाटको विषयवस्तु भने थाहा हुन सकेको छैन । पूर्वराजा आफ्ना परिवारका सदस्यहरूसहित नागरिक अभिनन्दन तथा भेटघाटहरूका लागि केही दिनदेखि भैरहवा छन् ।
उनले राप्रपाका नेताहरूलाई उतै बोलाउनु अर्थपूर्ण मानिएको छ । सार्वजनिक तस्बिरमा पाँचै जना नेता दौरासुरुवालमा सजिएका छन् । राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रले पूर्वराजाको भनाइ उद्वृत गर्दै लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौँ÷बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन् ।’
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यो नियमित भेटघाट भएको बताए । उनले भने, ‘राजसंस्थाको एजेन्डा बोकेको पार्टीका नेताहरूको पूर्वराजासँग नियमित नै भेटघाट हुन्छ । यो असामान्य होइन ।’
पूर्वराजा ज्ञानेन्द्रलाई बिहीबार भैरहवामा नागरिक अभिनन्दन गरिने कार्यक्रममा नेताहरू आएका हुन् । शाह दुई साता यता रूपन्देही बसेका छन् । यहीँबाट कपिलवस्तु तथा नवलपरासीमा पुगेर उनले अभिनन्दन ग्रहण गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar