काठमाडौं – नक्कली कागजात बनाई भिजिट भिसामा मानव तस्करी धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत नै संलग्न रहेको खुलेको छ ।
उक्त कार्यमा निगममा कार्यरत होमनाथ पोखरेल संलग्न रहेको खुलेको हो । पोखरेल निगममा कार्यरत छैटौँ तहका अधिकृत हुन् । उनले नक्कली कागजात बनाई विमानस्थलस्थित अध्यागमन, प्रहरी र एयरलाइन्ससंगको सेटिङमा दुबई लगायतका मुलुकमा मानव तस्करी गर्ने गरेको खुलेको छ । त्यसका लागी पोखरेलेले रोलेक्स लगायतका अन्य ६ वटा ट्राभल एजेन्सीमार्फत् नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउँदै आएका थिए ।
त्यसका लागी पोखरेलले अन्ट्रा ट्रिप ट्राभल्स, एचआर टुर्स एन्ड ट्राभल्स, होलिडे टुर्स एन्ड ट्राभल्स, मञ्जरी ट्राभल्स, एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टर र स्काई ट्राभल्सलाई प्रयोग गर्ने गरेका थिए । ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहने युवाहरुको नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र, नक्क्ली बैंक स्टेटमेन्ट बनाउने गरेका थिए । पोखरेलले सोही कागजातका आधारमा युवाहरूलाई नेपाल एअरलाईन्स मार्फत् सजिलै ‘बोर्डिङ पास’ उपलब्ध गराउँथे । र, नक्कली कागजातका आधारमा विदेश पठाँउदथे ।
विशेषगरी उनीहरूले नक्कली भिसामा नेपाली युवालाई दुबई पठाउँदै आएको देखिएको छ । यसबापत पोखरेलले २० लाख भन्दा बढी रुपैयाँ बुझेको पनि खुलेको छ । विमानस्थलबाट नक्कली कागजात बनाई भिजिट भिसाको आवरणमा दैनिक दुई सय ५० भन्दा धेरैको तस्करी हुँदै आएको थियो । यसका लागि उनीहरूले एयरलाइन्सका कर्मचारीलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँ बुझाउने गरेका थिए भने अध्यागन कार्यालयका कर्मचारीलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार रुपैयाँसम्म बुझाउँथे ।
त्यस्तै विमानस्थलस्थित कार्यरत प्रहरीहरुलाई भने उनीहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँ बुझाउने गरेका थिए । तस्कर समूहले विमानस्थलमा ‘सेटिङ’ मिलाउन मात्रै प्रतिदिन २ करोड रुपैयाँ भन्दा बढी खर्च गर्ने गरेका थिए ।
मानव तस्करी गर्ने अधिकृत पोखरेल सहित ७ जना पक्राउ
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त धन्दामा संलग्न निगमका अधिकृत पोखरेल सहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका राप्रसाद भण्डारी, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा, एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे र स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली रहेका छन् ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले उक्त धन्दामा संलग्न निगमका अधिकृत पोखरेल सहित ७ जनालाई पक्राउ गरेको पुष्टी गरे । ‘नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउने धन्दामा नेपाल एयरलाइन्सका अधिकृत संलग्न रहेको खुलेको छ । उनले ट्राभल एजेन्टबाट रकम बुझेको अनुसन्धानबाट देखिन्छ । उक्त धन्दामा उनीसँगै अन्य अभियुक्तलाई पनि पक्राउ गरेका छौँ । रेग्मीले भने । उक्त विषयमा अनुसन्धान जारी रहेको पनि उनले बताए ।
त्यसअघि कार्यालयले विमानस्थलस्थित प्रहरी सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङसहित १३ जनाको समूहलाई पनि पक्राउ गरेको थियो । उनीहरूविरुद्ध सरकारी कागजात किर्ते कसुरसहित संगठित अपराधअन्तर्गत म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।करिब महिना दिनको अनुसन्धानपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा उनीहरूले नक्कली कागजात बनाई विमानस्थलस्थित अध्यागमन, प्रहरी र एयरलाइन्सको मिलेमतोमा दुबईलगायत मुलुकमा मानव तस्करी गर्ने गरेको तथ्य खुलेको थियो । यद्यपि, अनुसन्धान कार्यालयले अध्यागमनका कर्मचारीलाई भने पक्राउ गरेको छैन ।
यसमा नेपाल वायु सेवा निगमसहति हिमालयन एयरलाइन्स, अलजजिरासहित पाँच एयरलाइन्सका कर्मचारी संलग्न रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar