काठमाडौं– थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन् ।
शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रक (डिब्बा गाडी)ले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी–२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको गएराति उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
उनको मृत्यु भएपछि शनिबार बिहान स्थानीयहरूले नागढुंगा सडक अवरूद्ध पारेका हुन् । खरिबोट, थानकोट र नागढुंगा चेकपोइन्टमा दर्जनौंको संख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन् ।
सडक ठप्प भएपछि प्रहरीले स्थानीयसँग छलफल गरी सडक अवरोध खुलाएको छ । ट्रक र चालक दुवै प्रहरी वृत्त थानकोटमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar