काठमाडौं– मुस्ताङमा रहेको चीनसँगको कोरला नाका खुलेको छ । आजदेखि नाका खुला गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज बिहान दुवै देशका अधिकारीले औपचारिकरूपमा नाका सञ्चालनका लागि उद्घाटन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले झन्डै एक हजार सीमा पार पास वितरण गरेको छ । मुस्ताङका लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीलाई पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । सीमा पार पास प्राप्त गरेकाहरूमध्ये कतिपय आजै चीनतर्फ गएका छन् ।
नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकमा खुशीयाली छाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमति भएको थियो । नाकाका लागि चीन सरकारले भौतिक पूर्वाधार निर्माण गरेको छ ।
नेपालतर्फ भने खासै संरचना बनाइएको छैन । चीनले नाकामै भव्य संरचना बनाउँदा नेपालले भने बोर्डर आउटरिच पोस्ट (बीओपी) पनि नाका भन्दा १८ किलोमिटर वर नेचुङमा बनाएको छ । कोरला २४ नम्बर पिलरमा पर्छ ।
नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए ।
जोमसोमदेखि कोरला नाकासम्म कच्ची सडकको पहुँच पुगेको छ । कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतमा रहेको बजार क्षेत्र पुगिन्छ । यो बाटो भएर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar