काठमाडौं– मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ८ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या गर्ने नातामा काका र देवर रहेको खुलेको छ ।
कात्तिक ८ गते राति श्रीदेवीको परिवारको हत्या भएको थियो । हत्या भएको १२ दिनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनामा संलग्न भएको आरोपमा मुगु पिना गाउँपालिका– ७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरालाई पक्राउ गरेको छ ।
हत्यापछि भागेका गोर्खराजलाई सीआईबी टोलीले कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ५ पञ्चकोशीटोलबाट पक्राउ गरेको हो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको र त्यसको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी–२ बाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् । गोपाल गाउँकै देवर नाता पर्छन् । उनीहरुले लुटपाटका लागि हत्या गरिएको बयान दिएका छन् ।
पक्राउ परेका शाही र बोहोरालाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको जिम्मा लगाएको छ ।
घटना अनुसन्धानका लागि सुरुमा जिल्ला प्रहरी कार्यालय मुगु र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको थियो । तर अनुसन्धान निचोडमा पुग्न नसकेपछि सीआईबीबाट डीएसपी धर्म भण्डारीको कमान्डमा टोली खटाइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar