काठमाडौं– राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनी भ्रमणका लागि जाने कार्यक्रम छ । उनी लुम्बिनी भ्रमणमा जाने राष्ट्रसङ्घको छैटौँ महासचिव हुन् ।
महासचिव गुटेरेसको भ्रमणबाट लुम्बिनीको विकासका कोषेढुङ्गा सावित हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए ।
गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत लुम्बिनी आउने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा लामाले जानकारी दिए । यसबाट राष्ट्रसङ्घको रोहवरमा दस वर्षे युद्धपछि माओवादी पार्टी शान्ति प्रक्रियामा आएको र विस्तृत शान्तिसम्झौता हुँदै हाल संविधान कार्यान्वयन र शान्ति प्रक्रियाकै अन्तिम चरणमा रहेको अवस्थामा महासचिवको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्रीसमेतको सहभागिताले विश्वभर शान्तिको सन्देश जाने उनले बताए ।
महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारीसमेत गरिसकेको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मङ्गलबार बिहान करिब ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस लुम्बिनीको औपचारिक कार्यक्रममा रहनेछन् ।
महासचिव गुटेरेसलाई मङ्गलबार बिहान बुद्धको जन्मस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, कोषका उपाध्यक्ष डा लामालगायतले स्वागत गर्नेछन् । यसलगत्तै महासचिव गुटेरेस शान्तिदीप हुँदै मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नुका साथै र त्यहाँको वातावरण अवलोकन गर्ने कोषले जनाएको छ ।
कोषकतर्फबाट त्यहाँ लुम्बिनी क्षेत्र र गुरुयोजनाका विषयमा जानकारीपश्चात् सञ्चारकर्मीसँग गुटेरेसले आफ्नो शान्तिको सन्देशसहितको भनाइ राख्ने कार्यक्रम तय भएको सदस्यसचिव शाक्यले बताए ।
महासचिव गुटेरेस शान्तिदीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने कार्यक्रम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar