काठमाडौं– राप्रपाले कोशी प्रदेश सरकार गठनमा सहयोग गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिन पदाधिकारी बैठक बोलाएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार कोशी सरकारबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बोलाइएको हो ।
राप्रपाको पछिल्लो कार्यसम्पादन समिति बैठकले नेताहरूसँग सुझाव लिई कोशी सरकारबारे निर्णय लिन सक्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो ।
कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
६ जना सांसद रहेको राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउने जमर्को गरिरहेको छ । तर राप्रपाले सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्ने निर्णय शुक्रबार बिहान मात्रै गर्ने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar