काठमाडौं – नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भइ सजाय काटिरहेका रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएको विरुद्धमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।
बिहीबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा उक्त रिटको प्राम्भिक सुनुवाइ हुन लागेको हो । हत्या भएका चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले आइतबार दर्ता गराएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश शर्माको इजलासमा पेशी तोकिएको हो ।
यसअघि सोमबार र मंगलबार रिटमाथि सुनुवाइका लागि पेशी चढे पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजालसमा सो रिटको पेशी चढेको थियो ।
रिट निवेदनमा राष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृहमन्त्रालय,जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङ र महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंलाई विपक्षी बनाइएको छ ।
रिगले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए । त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
संविधान दिवसको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाह भएपछि रिगलसहित ६७० कैदी जेलमुक्त भएका थिए । जेलमुक्त भएपछि उनका साथी तथा आफन्तहरूले खादा लगाएर सम्मान गरेका थिए ।
चेतनकी श्रीमती भारती रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति पौडेलको निर्णय बदरको माग गर्दै फेरि कारागार पठाउन सर्वोच्च पुगेकी हुन् । भारतीले श्रीमानलाई न्यायका लागि बुधबारदेखि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar