काठमाडौं– जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरू गरेको छ ।
मंगलबार जिल्ला प्रशासनले भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरेको हो ।
जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
उमेर पुगेर पनि नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट वंशजका आधारमा प्रदान गर्नेगरी गृह मन्त्रालयले गरेको परिपत्रअनुसार नागरिकता प्रदान गरिएको हो ।
नेपाल सरकारबाट नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरिएको प्रजिअ भुसालको भनाइ छ ।
नयाँ नियमावलीको व्यवस्थाअनुसार १६ वर्ष उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था रहेको उनले बताए ।
आमाको नामबाट नागरिकता पाउन निवेदक र निवदेकका आमाले बुबाको पहिचान नभएको स्वघोषणासहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयको सिफारीससहित प्रशासनमा निवेदन दिनुपर्नेछ ।
त्यस्तै वडाध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधि र निवेदकसँग सम्बन्धित दुईजनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar