कागबेनी – आइतबार साँझ बाढीले मुस्ताङको कागबेनीमा प्रहरी चौकीसहित १० घर र पक्किपुल बगाएको छ ।
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका – ४ कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । गुरुङका अनुसार बाढीले १० घर र होटल, प्रहरी चौकी, जोमसोम – कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताएको छ ।
‘कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन’, उनले भने, ‘बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।’ मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति पनि अहिले बन्द भएको छ ।
दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ ।
मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar