सधैँको फुर्सदिली ऊ । ऐना हेरेर दिन बिताउन थाली । घर करेसामा निस्कदा पनि कस्ती भएँ भनी ऐना हेर्न हतारिन्थी ऊ । उमेर बढे जसरी ऐना हेर्ने रहर उसको बढ्दै गयो । ऐना हेर्नु र आफूलाई निखार्नु उसको लतै बस्यो ।
– ‘छोराछोरी हुर्केर सातसमुद्रपारि पखेटा हालीसके, कामबाट पनि अबकाश भइहालियो मरिलानु के छ र !’ भन्दै ऐनाको सामुन्ने बसी छोरीले पठाइ दिएका ब्राण्डेड क्रिम पाउडरले अनुहार पोत्नु, मुखमण्डलका चाया र मुजाका धर्साहरू छोप्नु, कालो पोतिएका कपाल कोरीवरी कालो गगल्स घरि आँखामा घरि टाउकामा अड्याइ रहन्थी ऊ । जब मेकअप र फेसनबाट सन्तुष्ट हुन्थी तब सडकपट्टिको कोठाको झ्यालबाट सडकमा हिड्नेहरूलाई पढ्दथी । उसको मूल्याङ्कन बटुवाको अबस्थानुसार फरक फरक हुन्थ्यो ।
– दाँत झरललाई देखि भने – ‘हेर यो कति छिट्टै हास्दा तर्साउने भैसकी छे । मै हुँ भन्थी ठिक्क प¥यो । मेरो जस्तो नक्कली दाँत नहालेकी लोभिनी कहिँकी !’
– कपाल फुलेललाई भेटी भने – ‘लौ यसलाई पनि कालले देखिसकेछ बाइ । मैले त कपालमा कालो हालेर काललाई छक्क्याइ रहेकी छु तै !’
– दुब्लाएको प्रौढालाई देखि भने–‘चिनी रोगले सिट्टी भइसकीछे । कस्ती नखरमाउली छे भने मलाई केही भएको छैन भनी ढाँटछे ।’
-कोही लट्ठी टेकेर हिडेको देख्दा आफू चिकित्सकको सल्लाहले दुई महिनादेखि हिडडुल गर्न छाडेको बिर्सेर –‘लौ यसको पार्टपुर्जाहरू त मक्किसकेछन् त’ भन्ठान्थी ।
एकदिन अमेरिकाबाट भिडियो – सम्पर्क गरेकी छोरीलाई सबै बूढाबूढीहरूको मूल्याङ्कन सुनाई । अनि छोरीलाई हपारी – ‘किन ‘टिपटप’ नभएकी तँ ? अनुहार पनि मेकअपको मुखै नदेखेको जस्तो रैछ । लुगा पनि फेसनेबल देख्दिन । हेर त ! तँ भन्दा मै तन्दुरुस्त !’
छोरीले सम्झाउदै भनी –‘आत्मारतिमा नरमाउनुस् ममी ! मेकअप र कपडाले ढल्किदो उमेर छोपिन्न । उमेरले झरेको उर्जा भरिन्न । खानपिनमा होस गर्नुपर्छ । प्रेसर र सुगरको औषधित खाइरहनु भएको छ नि ?’
छोरीका कुराले ऊ छङ्गाछुर भई – ‘लौजा ! विहानै खानुपर्ने ओषति खान बिर्सेछु हेत्तेरिका !’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar