काठमाडौं – सरकारले सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनको प्रवलीकरण आगामी मंसिरदेखि सुरु गर्ने तयारी गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।
राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिलाई मन्त्रालयका पदाधिकारीले ऐतिहासिक राजनीतिक र नेपाली वास्तुकलाको महत्व बोकेको भवनलाई पुरानै शैलीमा प्रवलीकरण गरिने बताए ।
समितिको बुधबारको बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको संसदीय इतिहासको साक्षीकारूपमा रहेको भवन र त्यहाँको वास्तुकलामा कुनै क्षति नपु¥याई पुरानो शैली जस्ताको त्यस्तै ढाँचामा निर्माणका लागि कोशिस गरिने स्पष्ट पारिन् । उनले भनिन, ‘नेपालको संसदीय इतिहास र भवनबारे भावी पुस्ताले हेर्न तथा जान्न सकुन भन्ने उद्देश्यले ग्यालरी बैठक भवनलाई संसदीय संग्रहालयका रूपमा विकास गर्न पुरानै ढाँचामा प्रवलीकरणको कार्ययोजना अघि बढाइएको छ ।’
ग्यालरी बैठक निर्माण योजना तयार गर्ने, बजेट व्यवस्थापन र कार्यक्रम कार्यान्वयनको सम्पूर्ण जिम्मा सहरी विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ । पुरातात्विक प्रतिवेदनअनुसार ग्यालरी बैठक भवन एक सयवर्षभन्दा पुरानो भएको तथा माटोद्वारा निर्माण गरिएकाले प्रवलीकरण महँगो हुनसक्ने अनुमान गरिएको छ ।
उक्त भवन निर्माणका सन्र्दभमा परामर्शदाता नियुक्त भई डिजाइन कार्यअघि बढिसकेको र यही महिनाको अन्त्यसम्ममा प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि बोलपत्र आह्वान हुने भवन सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘एक सय वर्षको इतिहासको प्राविधिक र महत्व बोकेको भवन जस्ताको त्यस्तै राख्न कोशिस गरिरहेका छौँ । प्रतिवेदन तयार भएपछि बोलपत्र आह्वान गर्छाैं, स्रोत सुनिश्चित गरी भित्रको डिजाइन र कलाकृतिलाई जस्ताको त्यस्तै राख्ने कोशिस हुनेछ ।’ चालु आर्थिक वर्षमा उक्त भवन सवलीकरणका लागि १५ करोड बजेट विनियोजन भएको छ । उक्त भवन बहुवर्षीय योजनाको आधारम निर्माण अघि बढाइने जानकारी दिइयो ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त भवन भत्काएर नयाँ बनाउने कि सवलीकरण गर्ने भन्ने सन्दर्भमा लामो बहस र छलफल भएको थियो । पछिल्ला केही वर्ष भवनको छानोबाट पानी चुहिएर भत्कने सम्भावना बढदै गएपछि प्लास्टिकले छोपेर राखिएको थियो । हाल उक्त भवन संसद् सचिवालयका बिग्रेका, भाँचिएका र तोडफोड भएका सामग्री थन्क्याउने थलोका रूपमा प्रयोग भइरहेको छ ।
२०१६ सालबाट प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको हो । यसअघि बैठकमा सदस्यले नेपालीपन, वास्तुकला र चित्रकलाको विशिष्ट ओज बोकेको ग्यालरी बैठकको इतिहास मेटन नदिन गरिएको प्रयासले सार्थकता पाउन लागेको भनी महानिर्देशक श्रेष्ठले खुसी व्यक्त गरे ।
समितिका सभापति मायाप्रसाद शर्माले भने, ‘भवन प्रवलीकरण हुने भएपछि हामीलाई निकै खुसी लागेको छ ।’ सदस्य तुलसाकुमारी दाहाल र गरिमा शाहले भवन निर्माणमा नेपालीपन र परम्परागत शैली झल्कनुपर्नेमा जोड दिइन् । सदस्य गोमा तिमिल्सिनाले भनिन्, ‘पुराना संरचना मुलुकको धरोहर हुन्, सकेसम्म त्यो शैली जोगाउनुपर्छ । प्रवलीकरण गरिएपछि यो समितिको पहिलो बैठक त्यही बस्नुपर्छ ।’मुलुकको संसदीय इतिहासमा लामो समयसम्म प्रतिनिधिसभाको बैठक त्यही भवनमा बस्ने गरेकोमा संविधानसभाको निर्वाचनपछि सदस्यको संख्या ६ सय १ भएसँगै नयाँ बानेश्वरको सम्मेलन केन्द्रमा संसद् सरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar