काठमाडौं – ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईं गत वर्षको असार १ गते सहकारीमा समस्या आएको भन्दै कार्यालय बन्द गराउन लगाएका थिए ।
त्यसयता उनको ध्यान बचतकर्ताको रकम फिता गर्नतिर होइन हप्ताहप्तामा अनेक विज्ञप्ति निकालेर मिडिया, बचतकर्ता र नियामक निकायलाई समेत गुमराहमा राख्न सफल रहे । उनले यो एक वर्षमा बचतकर्ताको रकम फिर्ता गर्नुको साटो अनेक ‘स्टन्ट’ गरेर आश्वासन मात्र दिइरहे । अहिले बचतकर्ताको उजुरीसहितको फाइल सहकारी विभागले सिआइबीलाई पठाएपछि उनी फरार छन् । हप्तैपिच्छे विज्ञप्ति निकाल्ने उनको फाइल सिआइबीमा पुगेपछि कुनै विज्ञप्ति आएको छैन ।
सातदोबाटोमा केन्द्रीय कार्यालय, भक्तपुर र न्युरोड समेतमा गरी ताी वटा काउन्टर रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले करिब २० हजार सदस्यबाट तीन अर्ब बचत संकलन गरेको छ । संस्थामा सात जनाको सञ्चालक समिति छ । सात जना मध्ये दुई जना सञ्चालक विदेशमा छन् । संस्थाका कर्मचारी सम्पर्कविहीन बनेका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनअनुसार संस्थाको सेयर पुँजी १३ करोड १७ लाख ४९ हजार रुपैयाँ सेयर पुँजी रहेको थियो । संस्थाको जगेडा कोषमा ३३ लाख २५ हजार रुपैयाँ छ । उक्त प्रतिवेदनअनुसार ८ करोड ४५ लाख ७६ हजार ९ सय १३ रुपैयाँ नगद र २० लाख ३१ हजार १ सय ७ रुपैयाँ बैंकमा थियो । नगद देखिएको उक्त रकम अध्यक्ष तथा सञ्चालकहरू आफैँले चलाउने गरेको समेत यसैबाट प्रष्ट हुन्छ ।
संस्थाले २०७८ पुस २४ गते सातौँ वार्षिक साधारणसभा गरेको देखिन्छ । तर, साधारणसभामा संस्थाका सञ्चालक, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी र केही सदस्यको मात्र उपस्थिति रहेको देखिन्छ । संस्थाकै कार्यालयमा सम्पन्न गरेको साधारण सभामा सय जनाको पनि उपस्थिति थिएन । तर, संस्थाको सदस्य भने २० हजारको हाराहारीमा छन् । साधारणसभा गर्न ५१ प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनुपर्छ । २०७६÷०७७ देखि संस्थाले नियामक निकायमा समेत विवरणसमेत नबुझाएको भेटिएको छ ।
संस्थाले राष्ट्रिय सहकारी बैंकबाट २३ करोड ५ लाख रुपैयाँ चालु पुँजी कर्जा लिएको छ । संस्था संकटमा परेसँगै राष्ट्रिय सहकारी बैंकको २३ करोड ५ लाख रुपैयाँ समेत उच्च जोखिममा छ । २०७८ असार ३१ गतेसम्म संस्थाको कुल वासलात २ अर्ब ३६ करोड ३१ लाख ९२ हजार १ सय ३२ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको कुल वासलास जम्मा १ अर्ब ४३ करोड ७१ लाख १० हजार ६ सय ६० मात्र थियो । एक वर्षको अवधिमै संस्थाले झण्डै १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीले निक्षेप संकलन गरेको देखिन्छ । हाल संस्थाको कुल वासलात ३ अर्बको हाराहारिमा रहेको बुझिएको छ ।
६ महिने आवधिक बचतमा १६ प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्ने गरी निक्षेप संकलन गरेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले १ वर्षे आवधिक बचतमै २२ प्रतिशतसम्म ब्याजदर दिनेगरी बचत उठाएको थियो । संकलित रकम कानुन विपरित घरजग्गालगायत अध्यक्षका निजी ब्यवसायमा लगानी गरेको योसहकारीले बचतको सट्टा जग्गा दिने भन्दै सदस्य र नियामक निकायलाई झुक्याउने प्रयास गरेको थियो । सञ्चालक विरुद्ध कानुनी कारबाही अघि बढेसँगै यसबाट बच्नकै लागि संस्थाले साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गाको प्रलोभन देखाएको थियो ।
संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले सीमित सदस्यको भेला गरेर नौ बुँदे योजना सार्वजनिक गरेका थिए । उनले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको योजनामा पाँच लाख रुपैयाँसम्म बचत भएका सदस्यलाई क्रमशः नगद र त्यसभन्दा बढि भएकालाई चितवनको मेघौलीमा रहेको जग्गा दिने योजना अघि सारेका थिए ।
चितवनको भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ बिघा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेको र उक्त जग्गा ठूला बचतकर्तालाई दिने प्रक्रिया गत असोज ७ गतेबाट सुरु गरिने उनले त्यतिखेरै जानकारी दिएका थिए । २०७९ असार ११ गते सूचना निकालेर बचतकर्तालाई सम्पर्कमा आउन आग्रह पनि गरिएको थियो । बचतकर्ता संस्थाको न्युरोड शाखामा लाम लागे तर रकम फिर्ता पाएनन् । त्यसपछि बचतकर्ताहरूकै समूह बनाई उक्त समूहका बचतकर्ता कृष्ण प्रसाद कँडेल, नकुल आचार्य, जीवन श्रेष्ठहरूको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठ्ठामा ४४ वटा घडेरी र ललितपुरमा महेश तिमल्सिना, यशोदा सिलवाल, रञ्जु सिलवाल, लिला शाक्यलगायत सदस्यहरूले केही रकम आफू थपी करिब ३० करोडको जग्गा सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेको भन्दै उनले सञ्चारमाध्यममा सार्वजनिक गराएका थिए । तर ती सबै कुरा आश्वासन मात्र भएको गुनासो बचतकर्ताहरूको छ । उनीहरू एक रुपैयाँ पनि फिर्ता नपाएको भन्दै प्रहरीमा धाइरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar