रियाद– साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतंकवादी समूह’ खडा गरेको अभियोगमा आइतबार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ ।
एएफपीका अनुसार यस वर्षको शुरुदेखि हालसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतंकवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै पछिल्लोपटक मृत्युदण्ड दिइएका तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।
उनीहरूलाई आतंकवादलाई आर्थिक सहयोग गरेको तथा हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।
वक्तव्यमा मृत्युदण्डका लागि प्रयोग गरिएको विधिबारे केही उल्लेख गरिएको छैन। तर, साउदीमा प्रायजसो टाउको छेदन गरी मृत्युदण्ड दिइने गरेको छ । यस वर्ष ‘आतंकवाद’का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ, जहाँ शिया अल्पसंख्यक समुदायको बाहुल्य छ ।
गत महिना साउदी अरेबियाले बहराइनका दुई नागरिकलाई पनि आतंकवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो। साउदी अरब विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुकमध्ये एक हो ।
गत वर्ष आतंकवादसँग सम्बन्धित अपराधमा १४७ जनालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये ८१ जना एकै दिन मारिएका थिए। सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश उत्पन्न गरेको थियो ।
सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतस्थित रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको शुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar