काठमाडौं – संगीतकार दीपक शर्माले आफ्नो संगीतमा एक करोडभन्दा माथि भ्युज पाएका चलचित्रका गीतको संग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् ।
आइतबार काठमाडौंमा एक समारोहबीच गीतकार राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले गीतिसंग्रहको विमोचन गरे ।
कार्यक्रममा शर्माले आफूले संगीत गरेका ६ वटा चलचित्रका एक करोडभन्दा बढी भ्युज भएका ६ वटै गीत संग्रहमा समावेश गरेको जानकारी दिए ।
जसमा चलचित्र छक्का पञ्जाको शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको आवाज रहेको ‘देखन चम्पा,’ चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शंकर र विन्दू परियारको आवाज रहेको ‘पहिलो नम्बरमा’, छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शंकर र सहिमा श्रेष्ठको आवाज रहेको ‘दर्शन सलाम’, चलचित्र मंगलमको दीपककै शब्द तथा विन्दू परियार र कृष्ण काफ्लेको आवाज रहेको ‘पर्ख पर्ख मायालु’, चलचित्र हल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको आवाज रहेको ‘चि मुसी ची’ गीत रहेका छन् ।
कार्यक्रममा संगीतकार शर्माले भने, ‘मैले चलचित्र तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शकस्रोताको मायाले यहाँसम्म आइपुग्दा ६ वटा गीतले एक करोडदेखि ३ करोडभन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरुको संग्रहलाई सार्वजनिक गरेको हुँ ।’
उनले आफ्ना अन्य चलचित्रका आधा दर्जन गीत पनि अहिले करोड भ्युजको नजिक पुगेको र ती गीत केही महिनामै करोडभन्दा बढी भ्युज पुग्ने सुनाए । संगीतकार शर्माका चलचित्रका ६ वटा गीतमध्ये आफूले लेखेको दुई वटा गीतले दुईदेखि तीन करोड भ्युज पाएको भन्दै गीतकार राजेन्द्र थापाले हरेक प्रकारका गीतलाई आफ्नो फरक शैली दिनसक्नु दीपक शर्माको विशेषता भएको जिकिर गरे ।
आगामी दिनमा पनि आफू र दीपकको सहकार्यमा थुप्रै गीत आउने उनले बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं संगीतकार चेतन सापकोटाले दीपकलाई धेरै गीतमा करोड भ्युजको लागि शुभकामना दिए ।
संगीत यात्राको डेढ दशकमा यति धेरै हिट गीत दिनुले दिपक फरक प्रकारको संगीत गर्न सक्ने स्रष्टा हुन् भन्ने कुरा प्रष्टिएको दीपककै गुरु तथा संगीतकार नरहरि प्रेमीले बताए । ‘देखन चम्पा’ का गीतकार शान्तिप्रियले यो गीतले चलचित्र छक्का पञ्जाको स्कृप्टदेखि लवज नै परिवर्तन गरिदिएको जिकिर गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar