काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा आज छलफल गरेका छन् ।
उनले नेपाली उद्योगी व्यवसायीलाई ‘प्रमोट’ गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने र बढीभन्दा बढी नेपाली उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा क्रियाशील रहने बताए । अर्थमन्त्री डा महतले भने, “ज्ञानलाई सम्पूर्णरुपमा उपयोग गरेर ‘सिस्टम’मा भएको समस्यालाई धकेल्ने हो, समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।”
छलफलमा उनलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सांसदहरुको प्रश्नको जवाफमा डा महतले भने, “स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन, तर हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो, यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन, युवाको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौँ ।”
उनले देशभित्र उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्री महतले अर्थतन्त्रको सुधारका लागि आफ्नो ज्ञान र अनुभवलाई उपयोग गर्ने, ठूलो स्वरमा कुरा नगर्ने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माणको काम र योजनामा कार्यान्वयनमा नै मूल चुनौती देखिएको जनाउँदै उनले आर्थिक वर्षको नौ महिनापछि स्रोत उपलब्ध गराइदिनुप¥यो भनेर आउने प्रवृत्तिलाई निरुत्साहित गरिएको बताए ।
राजस्व घटेको स्थानमा आफूले हेरिरहेको उल्लेख गर्दै उनले भने, “अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौँ, त्यसलाई हामी सुधार गर्छौं, यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन ।”
वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी रहेको उनको भनाइ छ । सो सन्दर्भमा समीक्षा गरेर आवश्यकताअनुसार ऋण ल्याउन पनि आजको भोलि नै सम्भव नभएको उनको भनाइ छ ।
उनले आफ्नो क्षमता र योग्यताले भ्याएसम्म प्रणालीमा देखिएको समस्या समाधान गर्न प्रयत्नरत रहने बताए । उनले अवरोध पन्छ्याउँदै स्पष्ट मार्गचित्र कोर्न इमान्दार र समर्पणका साथ काम गर्दै जाने उल्लेख गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar