काठमाडौं – देसको जेठो अस्पतालको रुपमा परिचित् वीर अस्पतालले करोडौं रुपैयाँ हिनामिना गरेको खुलेको छ ।
अस्पतालले कोरोना महामारीका बेला राजधानीका केही होटल व्यवसायीसँगको मिलेमतोमा करोडौं रुपैयाँ हिनामिना गरेको खुलेको हो । कोभिड – १९ का बिरामीको उपचारमा प्रत्यक्ष संलग्न वीरका स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टिन राख्दा होटल बसेको र खाजा र खाना खाएको फर्जी बिल मिलाई हिनामिना गरेको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
केन्द्रको छानबिन समितिले अनियमितता भएको निष्कर्ष निकाल्दै थप अनुसन्धान तथा कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्न मनासिव हुने प्रतिवेदन बुझाएको छ । ‘थप कारबाही गर्न अख्तियारमा फाइल पठाइसकेका छौं,’ केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले भने ।
दुई वर्षअघि कोभिड बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिन बसेको, खाजा/खाना खर्चबापतको रकम तोकिएको अस्पताललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार कोषबाट उपलब्ध गराइने व्यवस्था थियो । यही व्यवस्थामा रहेर वीरले आफ्ना कर्मचारी तथा स्वास्थ्यकर्मीलाई सुन्धाराको इम्पेरर होटल, जमलको यल्लो प्यागोडामा क्वारेन्टिन राखेर जे एन्ड बी क्याफेमा खाना/खाजा खुवाएको थियो । यस विषयमा उजुरी परेपछि सतर्कता केन्द्रले २०७७ असारदेखि २०७८ वैशाखसम्म विभिन्न मितिमा क्वारेन्टिन बसेका, खाजा/खाना खाएका ७ सय ७१ जनाको बिलबीजक अध्ययन गरेको थियो । त्यसमा ३ करोड २४ लाख १९ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ । अध्ययन गरिएका बिलमध्ये अधिकांश शंकास्पद देखिएको छानबिन समितिको भनाइ छ ।
अस्पतालबाट क्वारेन्टिन नपठाएका कर्मचारीको समेत विवरण संलग्न गरी बिल बनाएको पाइएको केन्द्रले जनाएको छ । वीरले तोकिएभन्दा बढी रकम समावेश गरी बिल पेस गरेको, होटलको शुल्कभन्दा बढी रकम भुक्तानी गरेको देखिएको केन्द्रको भनाइ छ । सबभन्दा बढी समस्या इम्पेरर होटलमा देखिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । केन्द्रको छानबिन समिति सदस्य प्रहरी नायब उपरीक्षक बुद्धि खनालले गलत विवरण तयार पारेर करोडौं रुपैयाँ भुक्तानी दिएको पाइएको बताए । ‘स्वास्थ्यकर्मी र कर्मचारीले मिलेमतोमा फर्जी बिल तयार पारेर रकम हिनामिना गरेको देखिन्छ,’ उनले भने, ‘कानुनबमोजिम कडा कारबाही गर्न केन्द्रका सचिवसमक्ष सिफारिस गरिसकेका छौं ।’
कोभिड–१९ का बिरामीका उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ बनेको थियो । दफा ३ मा त्यस्ता स्वास्थ्यकर्मी र कर्मचारीका लागि गुणस्तरीय तथा स्वस्थ खानपान, सरसफाइ र आवासको व्यवस्था गर्ने उल्लेख छ । यसका लागि प्रतिव्यक्ति प्रतिदिन दुई हजार रुपैयाँबाट नबढ्ने गरी अस्पताललाईरकम उपलब्ध गराउने भनिएको छ । तर, केही स्वास्थ्यकर्मी तथा कर्मचारी एसी डिलक्स रुममा बसेको र प्रतिदिन ३ हजार २ सय १८ रुपैयाँका दरले ६ वटा बिलमार्फत ५ लाख ९२ हजार रुपैयाँसम्म भुक्तानी माग गरेको प्रतिवदेनमा उल्लेख छ । त्यस्तै, जी एन्ड बी क्याफेलाई भुक्तानी भएको एक लाख ४३ हजार ९ सय ७२ रुपैयाँ पनि गैरकानुनी देखिएको र कतिपय बिलमा चलानी नम्बरसमेत मेल नखाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सेवा दिने होटल र अस्पतालबीच सम्झौता हुनुपर्ने व्यवस्था छ । तर, यल्लो प्यागोडा र जे एन्ड बी क्याफेले अस्पतालसँग सम्झौता गरेका छैनन् । इम्पेरर र अस्पतालबीच भने २०७७ असार ३ मा सम्झौता भए पनि २०७७ जेठ २ देखि क्वारेन्टिनमा राखेको भनी शंकास्पद भुक्तानी गरेको देखिन्छ । कुन – कुन व्यक्तिलाई कति दिनका लागि क्वारेन्टिन पठाएको भन्ने विवरणसमेत अस्पतालले उल्लेख गरेको छैन ।
छानबिन समिति सदस्य प्रहरी नायब उपरीक्षक खनालका अनुसार त्यतिबेला कोभिड बिरामीको उपचारमा संलग्न हुनेहरू अरूको सम्पर्कमा आउनुपूर्व १४ दिनसम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था थियो । ‘कतिपय स्वास्थ्यकर्मी तथा कर्मचारी नियमाअनुसार क्वारेन्टिन बसेको देखिन्छ । अधिकांश बिलमा एक/दुई दिन मात्र क्वारेन्टिनमा बसेको देखाइएको छ,’ उनले भने, ‘कतिपय पत्रमा नाम उल्लेख भए पनि पछि बिलमा काटिएको छ भने होटलले पठाएको बिलको मिति र अस्पतालले क्वारेन्टिनमा राख्न पठाएको मिति नै फरक छ ।’ अस्पतालको पत्रमा केरमेट गरिएको र वास्तविकभन्दा बढी कर्मचारी क्वारेन्टिनमा राखेको विवरण पेस गरी भुक्तानी भएको रकम वैधानिक मान्न नसकिने खनालको भनाइ छ ।
इम्पेररले २०७७ भदौ १ को बिलमा ब्रेकफास्ट, लन्च र खानासहित ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ (भ्याटसहित) माग गरेकामा अस्पतालले भने ५ लाख ४५ हजार ५ सय २७ रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, निवेदनमा ३१ लाख ७२ हजार २ सय १५ रुपैयाँ माग गरिए पनि बिल ३० लाख ९६ हजार एक सय ५४ रुपैयाँको बनाइएको छ । माग रकमभन्दा घटबढ हुनुमा भुक्तानी शंकास्पद देखिएको प्रतिवेदनमा उल्लेख छ । मार्गनिर्देशन, २०७७ बमोजिम खर्च भएको रकम उपलब्ध गराउँदा सम्बन्धित अस्पतालले आवश्यक प्रमाण स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराउनपर्ने प्रावधान छ । तर, वीरको बिलबिजकमा कैफियत देखिए पनि स्वास्थ्य मन्त्रालयले कुनै शंका नगरेको देखिन्छ । मन्त्रालयका सहायक प्रवक्ता समीर अधिकारीले यसबारेमा आफूलाई जानकारी नभएको बताए । ‘बिलबिजक ठीक रहेरै भुक्तानीका लागि अनुमति दिएको हुनुपर्छ,’ उनले भने ।
होटल इम्पेररका सञ्चालक जीवनकुमार श्रेष्ठले प्रतिवेदनमा जस्तो अनियमितता नभएको दाबी गरे । ‘भुक्तानीका लागि अस्पतालले क्वारेन्टिनमा बस्न पठाएको स्वास्थ्यकर्मी तथा कर्मचारीको नामावलीसहित पठाएका छौं,’ उनले भने, ‘बकाइदा भ्याट बिल काटेको छु ।’ यल्लो प्यागोडाका व्यवस्थापक कृषेश महर्जनले भने वीरसँग सम्झौता गरेर मात्र सेवा दिएको दाबी गरे । ‘कोभिड महामारीका कारण सुरुमा केही दिन सम्झौता हुन सकेको थिएन, पछि गरेका हौं,’ उनले भने, ‘हाम्रोमा एउटा रुमको चार्ज दुई हजारभन्दा बढी छ । निर्देशिकाले प्रतिदिन प्रतिव्यक्ति दुई हजार रुपैयाँ मात्र दिने भएकाले एउटै रुममा दुई जना राखेकाले बिल काट्दा ३ हजार २ सय १८ रुपैयाँ पुगेको हो ।’ जे एन्ड बी क्याफेका सञ्चालक अर्जुन अर्यालले संकटका बेला भएकाले सेवा दिने सोचले मात्र काम गरेको दाबी गरे । ‘सम्झौता गर्नुपर्छ भनेर अस्पतालले पनि केही भनेन, हामीलाई पनि थाहा भएन,’ उनले भने ।
वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेल भने यसबारेमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘म आउनुअगाडिको कुरा मलाई थाहा भएन,’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar