काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिनुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताएका हुन् ।
“अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन । यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ”, अर्थमन्त्री महतले भने, “अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ । त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।”
अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उनले बताए ।
मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा पुगिनसकेको पनि अर्थमन्त्री महतको दाबी छ ।
“अर्थतन्त्र एकदमै कहालीलाग्दो अवस्थामा होइन । हामी अर्थतन्त्रलाई सुधारतर्फ उन्मुख गराउन सक्छौँ । अहिले देखिएका समस्यालाई हल गर्न सक्छौँ । त्यसका लागि ठोस प्रतिबद्धता हामीसँग छ । अवश्य पनि समस्याका चाङ छन् । सबै समस्यालाई हटाउन केही समय लाग्छ । केही धैर्यको आवश्यकता पर्छ”, उनले भने ।
अहिले अर्थतन्त्रमा देखिएका दबाब र अप्ठेरा फुकाउन जरुरी रहेको डा महतको भनाइ छ । अर्थतन्त्रको समस्या अहिलेको वा यसभन्दा अघिको सरकारका कारणले सिर्जना नभएको पनि उनले स्पष्ट पारे । विगतदेखिकै समस्या थुप्रिँदै गएर अहिले विकराल बनेको उनको भनाइ छ ।
नेपालको अर्थतन्त्रमा संरचनागत समस्या र शासन प्रणालीको समस्या रहेको उनको भनाइ छ । सरकारको तर्फबाट निर्वाह हुनुपर्ने भूमिकामा पनि कमी कमजोरी रहेको अर्थमन्त्री महतले बताए ।
अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा आजको भोलि नै नतिजा देखाउन नसकिने पनि उनको भनाइ छ । तर सरकारले अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरिरहेको अर्थमन्त्री महतले दाबी गरे ।
कोभिड महामारीको समयमा मौद्रिक नीति खुकुलो बनाउँदा अहिले समस्या देखिएको उनको भनाइ छ । पूँजीगत खर्चको समस्या देखिनुमा यस वर्ष भएका चुनाव जिम्मेवार रहेको पनि उनको भनाइ छ ।
त्यस्तै, तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको डा महतले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar