काठमाडौं – देसकै जेठो अस्पताल वीर अस्पतालमा एमआरआईका लागि बिरामीहरुले एक सातादेखि दुई सातासम्म कुर्नुपर्ने बाध्यता छ ।
अन्य अस्पतालको तुलनामा वीरमा एमआरआई शुल्क सस्तो भए पनि लामो समयसम्म कुर्नुपर्ने बाध्यताका कारण बिरामीहरूले निकै सास्ती खेप्न बाध्य हुनुपरेको विरामीहरुको गुनाशो छ । वीर अस्पतालमा उपचारसँगै एमआरआई गर्नेमध्ये दैनिक ६/७ जनाले पहुँचका आधारमा मात्र सोही दिनै पालो पाउने गरेको अस्पतालका एक कर्मचारीले बताए । उनी भन्छन्, ‘तर टाढा टाढाबाट आएका सर्वसाधारण भने पालो नै कुर्नुपर्ने बाध्यतामा छन् ।’
अस्पतालले टाउको, गर्धन, घुँडा, कम्मर, पेट लगायतको अङ्गको उपचार गर्न गएकालाई मात्र आवश्यकताका आधारमा एमआरआईका लागि सिफारिस गरिन्छ । त्यस्तै दिनमा अस्पतालको सबै विभागबाट एक सयदेखि डेढ सयसम्मलाई एमआरआईका लागि सिफारिस गरिने अस्पतालले जनाएको छ । धेरै जसो अर्थोपेडिक डिपार्टमेन्ट, न्युरो सर्जरी, न्युरो मेडिसिन, चेष्टको लगायतका विभागमा उपचार गर्न आएकालाई एमआरआई गर्न चिकित्सकहरूले सिफारिस गर्ने अस्पतालले जनाएको छ ।
एमआरआईको विषयमा विरामीहरुले गरेको गुनाशोलाई लिएर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई प्रश्न गर्दा वीर अस्पतालको एमआरआई चापमा चलेको बताए । ‘अन्य एक्सरे जस्तो एमआरआई चाँडो हुँदैन ।’ उनले भने, ‘एमआरआई गर्दा बिरामी आनन्दले सुतेपछि मेसिनले स्क्यान गर्ने समयसम्म कुर्नुपर्छ । बिरामीको रोगको प्रकृतिअनुसार एमआरआई गर्न समय लाग्छ ।’
क्यान्सर लगायतका केही रोगीलाई औषधी दिएर समेत एमआरआई गरिन्छ । जसलाई एक घण्टासम्म समय पनि लाग्न सक्ने उनले बताए ।बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दिनमा २५ वटा एमआरआई गरिने उनको भनाइ छ । शनिबार बिदाको दिनमा समेत अस्पतालले एमआरआई मेसिनलाई सञ्चालन गर्ने गरेको डा.पौडेलले बताए । ‘बिरामीलाई सकेसम्म बढीभन्दा बढी सेवा दिन लामो समयसम्म एमआरआई मेसिन सञ्चालन गरेका छौँ,’ उनले भने, ‘अन्य ठाउँमा एमआरआई गर्ने दर दैनिक १२/१३ वटा हुन्छ, हाम्रो कम्तीमा दैनिक २५ वटासम्म गरिन्छ ।’
वीर अस्पताल एमआरआई गर्ने मेसिन एउटा मात्रै छ । एमआरआई मेसिन सर्भिसिङका लागि केही समय मात्रै छुट्याइएको छ । गम्भीर प्रकृतिका बिरामी, आकस्मिक रुपमा एमआरआई गर्नु परेमा पालो कुर्नु नपर्ने उनको जिकिर छ । एमआरआई मेसिन खर्चिलो र खरिद प्रक्रिया लामो भएकाले तत्काल नयाँ मेसिन थप्ने योजना नभएको निर्देशक पौडेलको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar