पर्सा – पर्साको धोविनी गाउँपालिका सदस्यहरूले गाउँपालिकामा तालाबन्दी गरेका छन् ।
पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले व्यापक भ्रष्टाचार गरेको र एक महिनादेखि गाउँपालिका नआई वीरगञ्जमा कार्यालय सञ्चालन गरी अनियमिता गरिरहेको भन्दै उनीहरूले पालिकामा तालाबन्दी गरेका हुन् । गाउँपालिका अध्यक्ष मदन चौहानले गलत राजनीतिक मनसायले एकलौटी ढंगले पालिकामा करारमा कार्यरत १५ जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगीहरूलाई हटाएका छन् । कर्मचारी हटाएपछि उनी एक महिनादेखि कार्यालय गएका छैनन् । साथै पालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत महम्द नवाज हुसेनले पनि बिदा स्वीकृत नगरी १५ दिनको बिदामा बसेका छन् ।
यसरी एक महिनादेखि कार्यालय नआउँदा वीरगञ्जमा कार्यालय सञ्चालन गरिरहेकोले गाउँपालिकामा आउने सेवाग्राहीहरूले रित्तो हाथ फर्कन बाध्य भएका छन् । गाउँपालिका अध्यक्ष चौहान, प्रमुख प्रशासकीय अधिकृत हुसेन र एकाउन्टेन्ट धनञ्जय दासको मिलोमतोमा वीरगञ्जमा बसी अफिस सञ्चालन गरी व्यापक भ्रष्टाचार गरिरहेका कारण बाध्य भएर गाउँपालिकामा ताल्चा लगाउनुपरेकोे वडा–४ का वडा अध्यक्ष अबास मियाँले जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत हुसेनले अध्यक्ष चौहानसँग मिलोमतो गरी एकलौटी तरिकाले जथाभावी चलाइरहेकोले र कार्यपालिका बोर्डलाई अनादर गरी कुनै वास्था नगरेको उनीहरूले आरोप लगाएका छन् ।
त्यसैकारण बाध्य भएर गाउँपालिका उपाध्यक्ष मञ्जुदेवी पटेलको नेतृत्वमा १० जना कार्यपालिका सदस्यहरूको सहभागितामा गाउँपालिका कार्यालयमा ताला लगाई बन्द गरिएको छ । यदि गाउँपालिका अध्यक्ष चौहान, प्रमुख प्रशासकीय अधिकृत हुसेन र एकाउन्टेन्ट धनञ्जय दासले समयमा गाउँपालिका नआए गाउँपालिका बन्द नै रहने र सशक्त अन्दोलन अगाडि बढाउने कार्यपालिका सदस्य दिनेश कलवारले बताए ।
तालाबन्दी कार्यक्रममा उपाध्यक्ष मञ्जुदेवी पटेल, वडा–१ का वडा अध्यक्ष बन्धु साह, ३ का वडा अध्यक्ष किशोर पटेल, ४ का वडा अध्यक्ष अबास मियाँ, कार्यपालिका सदस्य दिनेश कलवार, नन्दकिशोर प्रसाद, रिना देवी, शोभावती देवी, प्रमजोती कुमारी, शारदा देवी तथा मदन सहनी लगायतको सहभागिता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar