धादिङ – सदरमुकाम धादिङबेसी सरकारी परिसरमा रहेको भानु पार्क मिचेर पानी ट्याँकी निर्माण भैरहेको छ ।
पानी ट्याँकी निर्माण भएसंगै हरेक वर्ष भानु जयन्ती तथा अन्य साहित्यीक कार्यक्रमहरुमा नागरिकको जमघट हुने भानु पार्क अब इतिहाँसमा सिमित बन्न लागेको हो । जिल्ला प्रशासन कार्यालयसंगै रहेको पार्क सरकारी निकायमा सेवा लिन आउने सेवाग्राहीको लागि मनोरञ्जन र समय विताउने ठाउँको रुपमा सुविधा सम्पन्न पार्क निर्माण गर्न पहल भैरहेका बेला नीलकण्ठ नगरपालिकाले पार्क नै मासेर ट्याँकी निर्माण गर्नु खेद जनक कार्य भएको नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् ।
केहि समय नेपाली सेनाको निगरानीमा राखिएको पार्क तत्कालिन प्रधान सेनापती छत्रमान सिंह गुरुङसंग अनुरोध गरेपछि आम नागरिककालागि खुल्ला भएको थियो । सेनाले माइन विच्छ्याएका कारण नागरिकको आउजाउमा रोक लगाएकोमा पछि माइन हटाएर खुल्ला गरिएको थियो । २०४८ सालदेखि भानुपार्कको रुपमा प्रयोग हुँदै आएको सभ्यता नास गर्नु गलत कार्य भएको भानु प्रतिष्ठानका केन्द्रिय सदस्य एवम् प्रतिष्ठानको तर्फबाट धादिङमा संयोजनको काम गर्दै आउनु भएका डा.नविनवन्धु पहाडीले बताए । पार्क मिचेर पानी ट्याँकी निर्माण गरेको विषयमा प्रतिष्ठानको तर्फबाट नगर प्रमुख भिमप्रसाद ढुंगानाको ध्यानाकर्षण गराए पनि काम नरोकिएको पहाडीले बताए ।
यता नगर प्रमुख भिमप्रसाद ढुंगानाले भने सहमती मै काम अघि बढाएको दाबी गरेका छन् । पानी ट्याँकी भूमिगत हुने र जमीनमाथि दुइमिटर मात्र देखिने भएकोले त्यसमा विभिन्न चित्रहरु मार्फत आकर्ष बनाउने ढुंगानाले बताए । भानुपार्क पार्क मात्रै नभएर सभ्यता पनि भएको र सभ्यता नै नाश हुने कार्य प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, पूर्व अध्यक्ष नवराज छत्कुली, नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी, नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ लगायतले यस विषयमा प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखसंग छलफल गर्नु पर्ने बताएका छन् ।
भुकम्प जस्ता विपद्को समयमा नागरिककालागि खुल्ला स्थानको रुपमा प्रयोग हुँदै आएको भानु पार्कमा विगतमा पनि धेरै बालबालिकालाई राखेर सहजीकरण गरिएको थियो । साहित्यीक जमघट, मनोरञ्जन र थकाइ मेटाउने चौतारीको रुपमा प्रयोग हुँदै आएको पार्कलाई अझ विकसित गर्नुको सट्टा नाश गर्ने कार्य राम्रो नभएको नागरिक अगुवाहरुले बताएका छन् ।
नागरिकका लागि पिउने पानी त आवश्यक हो तर त्यसकालागि अन्यत्र स्थान खोज्नु पर्नेमा पार्क छनोट गर्नु सभ्यता विपरितको कार्य भएको पनि उनीहरुको गुनासो छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar