काठमाडौं – एउटा चर्चित पुरानो हिन्दी गीत छ ‘प्रेम कहानीमे, एक लड्का होता है, एक लड्की होती है, कभी दोनो रोते है कभि दोनो हसते है’ । अर्थात प्रेममा परेका जोडीबीच कहिले झगडा हुन्छ कहिले मिलाप हुन्छ । यो गीतजस्तै बनेको छ नेपाली राजनीतिमा प्रचण्ड ओली सम्बन्ध ।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि बेला–बेला कटुतापूर्ण र सुमधुर हुने उनीहरूको सम्बन्धले राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याउने गर्छ । कुनै बेला पार्टी एकीकरणसम्मको निर्णयमा पुगेका यी दुईको सम्बन्ध उतारचढावपूर्ण छ । स्थायी शत्रु र मित्र नहुने राजनीतिको आख्यान ओली–प्रचण्ड सम्बन्धमा मेल खान्छ ।
कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको चर्को आलोचना गर्दै ओलीलाई संघीयता विरोधीको आरोप लगाए जतिबेला प्रचण्डले ०७२ असोज २४ गते आफैँ प्रस्तावक बनेर बनाइएका प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासका प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावकै कारण ओलीले राजीनामा दिएका थिए । यसको दुई दिनपछि अर्थात् ०७३ साउन ९ गते ओलीले प्रचण्डलाई जवाफ फर्काए । ओलीले प्रचण्डलाई जवाफ मात्र दिएनन्, विगत सम्झाउँदै कटाक्ष पनि गरे । उल्टै प्रचण्डलाई प्रश्न गर्दै भनेका थिए, ‘म राजतन्त्रसँग लडाइँ गरेर जेलमा पर्दा कापीकलम बोकेर कुन स्कुलमा कुद्दै हुनुहुन्थ्यो ?’
ओलीसँग बिग्रिएको राजनीतिक सम्बन्धको दुरी प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवातिर निकट बनाए । कांग्रेस र तत्कालीन मधेसी मोर्चासँगको सहकार्यमा प्रचण्ड ०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री भए । नौ महिनाको अवधिमा प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गरे ।देउवा ०७४ जेठ २३ मा प्रधानमन्त्री भए । यसबीचमा कांग्रेस र माओवादीबीच स्थानीय तह निर्वाचनमा तालमेल नै भयो ।
दोस्रो संविधानसभामा एमालेले आफ्नो साख फिर्ता गर्दा माओवादी चुनावी मैदानमा नराम्ररी पछारियो । ओली संविधानसभा तथा संसदीय दलको नेतामा निर्वाचित भए । संविधान जारी हुनुअघिको राजनीतिक सहमतिकै आधारमा ओली ०७२ मा पहिलोपटक प्रधानमन्त्री पनि भए । जसका प्रस्तावक प्रचण्ड नै थिए ।०७१ माघमा राष्ट्रिय राजनीति संविधान निर्माणको खिचातानीमै थियो । माओवादीसहित २२ दलीय मोर्चा आन्दोलनमा थियो । त्यही आन्दोलनलाई लक्षित गरेर ओलीले १० अर्ब रुपैयाँ दिए आन्दोलन स्थगित हुने ठोकुवा गरे ।प्रतिक्रियालाई लिएर मोर्चाले निर्णय नै गरेर ओली मानसिक बिरामी भएको आरोप लगाइदियो ।
त्यसैको भोलिपल्टै प्रचण्डले ओलीमाथि आक्रोश पोख्दै संसद्मा आफूलाई राजा र अरूलाई रैती नठान्न चेतावनी दिए । ओलीलाई महाराजको संज्ञा पनि दिए ।आरोप प्रत्यारोपको शृंखला यतिमै सीमित भएन । ०७१ माघमै चलेको संसद् बैठकमा ओलीले माओवादीलाई बाँदरको संज्ञा दिए र भने, ‘नेवारी भाषामा एउटा शब्द छ । धेरै नचाहिने कुरा ग¥यो भने ‘माकः फूँइ’ भन्छ । कुनै ‘माकः फूँइ’सँग एमाले डराउनेवाला छैन ।’ नेपाल भाषामा बाँदरलाई ‘माकः’ भनिन्छ ।
त्यसको केही दिनमै माओवादीले मध्यरातमा संविधानसभामा तोडफोडसमेत गरेको थियो । ओली र प्रचण्डको सम्बन्ध कुनै समय यस्तो विन्दुमा पुग्यो दुई नेताले एकै सार्वजनिक मञ्चसमेत सेयर गरेनन् ।
०७२ वैशाख १२ गतेको भूकम्पले ठुलै तहसनहस ग¥यो । तर भत्किएको राजनीतिलाई भने एक ठाउँमा ल्यायो । संविधान जारीका सवालमा भएको १६ बुँदे सहमतिले फेरि ओली–प्रचण्डलाई निकट बनायो ।
संविधान जारीपछि ओलीलाई प्रधानमन्त्री बनाउन होस् वा नाकाबन्दी, दुबैमा प्रचण्डले ओलीलाई बलियो साथ दिए । संविधान जारीपछि ओलीलाई प्रधानमन्त्री बनाउने दलीय सहमति कांग्रेसले उल्लंघन गरेको विषयमा ओलीभन्दा बढी आक्रामक प्रचण्ड देखिए ।
संविधान जारीलगत्तै सैनिक मञ्चबाट प्रचण्डले भारतलाई लक्षित गरी ‘हामी एस म्यान होइनौँ’ भन्ने प्रतिक्रिया जनाए । नाकाबन्दीको विरोधमा रंगशालाबाट ओली–प्रचण्ड दुवैले सोही भाषा दोहोर्याए ।
सत्ता साझेदार रहेकै बेला ओली–प्रचण्ड सम्बन्धमा दरार ल्याउने फेरि पनि भद्र सहमति नै बन्यो । सत्ता हस्तान्तरणको विवादले दाहालले सरकारमै बसेर कांग्रेससँग सम्बन्ध अघि बढाए र, ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे ।बेलाबेलामा खटपट परे पनि एमाले माओवादी एकीकरणपछि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्ड ओलीसँग केही समय चुपचाप नै रहे । सर्वोच्चले तत्कालीन नेकपालाई तीन चिरा बनाइदिएपछि ओली–प्रचण्ड सम्बन्ध झन् तीक्तता बन्न पुग्यो ।
स्थानीय चुनाव र आमचुनावमा समेत एमाले भर्सेस अन्य दलको अवस्था रह्यो । चुनावमा कांग्रेससँग गठबन्धन गरेर प्रचण्ड अघि बढे । तर कसैको बहुमत आएन । नेपालको संविधानको धारा ७६ (२) अनुसार पुस १० गते सरकार दाबी गर्ने दिनसम्म पनि गठबन्धन गरेको कांग्रेस माओवादीबीच कुनै सहमति भएन । प्रचण्डले प्रधानमन्त्री नपाएपछि उनी दौडेर ओली निवास बालकोट पुगे । त्यसपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति ओलीको बार्दलीमा नै बन्यो । यसलाई नेपालीमा बार्दली सहमति ढलेको भनेरसमेत टिप्पणी गर्ने गरिन्छ । अन्ततः सोेमबारबाट प्रचण्ड ओली बार्दली सहमति भत्किएको छ । जब एमाले–प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar