काठमाडौं – केही दिनअघि गायिका एलिना चौहानले एपीवान टेलिभिजनमा अन्तर्वार्ता दिइन् । कार्यक्रमको शीर्षक थियो ‘द प्रकाश सुवेदी सो’ जहाँ प्रकाश सुवेदीले आफ्नो कार्यक्रममा प्रायः कलाकारलाई नै लगेर अन्तर्वार्ता लिने गर्दछन् । उक्त कार्यक्रममा कलाकारदेखि राजनीतिक नेतालगायत विभिन्न व्यक्तिको तस्बिर देखाएर पहिचान गर्न लगाइन्छ । जुन दिन गायिका एलिनालाई पनि तस्बिर देखाएर पहिचान गर्न लगाइयो । विभिन्न व्यक्तिका तस्बिर देखाएर पहिचान लगाउने क्रममा नागरिकता विवादमा परेर गृहमन्त्रीबाट निलम्बनमा परेका रवि लामिछानेको तस्बिर देखाएर ‘कुन रुपमा’ चिन्नुहुन्छ ? भनेर प्रश्न गरियो ।
त्यस क्रममा गायिका चौहानले रविलाई नजिकबाट नचिन्ने बताइन् । प्रश्नको जवाफमा उनले भनेकी थिइन्, ‘उहाँलाई त त्यस्तरी चिन्दिन ।’ एलिनाको बोली काटेर प्रकाश सुवेदी भन्छन्, ‘अहिले चर्चै छ उहाँको यतिखेर ।’ चौहान थप्छिन्, ‘होइन चिन्छु, तर चर्चा भए पनि उहाँ प्रसनल्ली कस्तो मान्छे हो, उहाँ यस्तो मान्छे हो भन्ने थाहा छैन क्या मलाई, उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भन्दा म कुनै पनि रुपमा चिन्दिन, उहाँ रवि लामिछाने भनेर चिन्छु, तर रुपअनुसार चिन्दिन ।’ गायिका चौहानले यति बोलेको विषयमा त्यसको क्लिप काटेर यतिबेला सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाइरल बनाउँदै उनको कतै विरोध र समर्थन भइरहेको छ । हुन पनि गायिका चौहानले लामिछानेलाई चिनिहाल्नै नपर्ने सामाजिक सञ्जालमा कतिपयले बताइरहेका छन् ।
तर, रविका समर्थकले भने लामिछानेलाई नचिनेको भन्दै एलिनाको आलोचना गरेका छन् । लामिछानेलाई नचिन्नु एलिनाको कुनै गल्ती नभएको धेरैको धारणा पनि छ । कार्यक्रमको सुरुवातमा एलिनाले तस्बिर देखेको भरमा मात्रै प्रायः व्यक्तिलाई चिनेर यस्तो–उस्तो भनेर खण्डन गर्न नसक्ने बताउँदै आएकी थिइन् । तर, कार्यक्रम प्रस्तोताले ‘तपाइँले नचिने पनि मैले चिनाउँछु’ भन्दै प्रश्न गरेका थिए । धेरैबाट आफ्नो आलोचना भएपछि गायिका एलिनाले फेसबुकमा लामो स्टाटस लेखेर सम्पूर्ण दर्शक – स्रोतालाई आफूले बोलेको सानो कुरालाई लिएर अतिरञ्जित नगर्न आग्रह गर्दै कसैको भावनामा आँच आएकोमा ध्यानाकर्षण भएको पनि बताएकी छन् ।
तर, लामिछानेका समर्थक भने उनीप्रति आक्रोश व्यक्त गरिरहेका छन् । यस विषयमा गायिका चौहानसँग कुरा गर्दा कार्यक्रममा गरिएको प्रश्नमा लामिछानेलाई पत्रकार तथा पूर्वगृहमन्त्रीका रुपमा चिने पनि व्यक्तिगत रुपमा राम्रोसँग नचिनेको बताइन् । व्यक्तिगतरुपमा नचिनेको भन्दा आफूले अपराध नगरेको उनले बताइन् । ‘मैले रविदाइलाई बाहिरबाट चर्चित पत्रकारको हिसावले चिने पनि व्यक्तिगत रुपमा उहाँको सबै आनीबानी बुझेको छैन,’ गायिका चौहानले भनिन्, ‘अहिलेसम्म भेट भएको पनि छैन र कुनै रुपमा चिनेको छैन, त्यसैले कार्यक्रममा ‘कुनरुपमा चिन्नुहुन्छ’ भन्ने प्रश्नमा मैले कुनैरुपमा चिन्दिन, पत्रकार रवि लामिछाने भनेर चिन्छु भनेको हो ।’
साथै, उनले रविका समर्थकले सामाजिक सञ्जाल फेसबुकमा (फेक) नक्कली आइडी बनाएर ‘देशलाई चाहिने मान्छे नचिन्ने तँ कोहो’ भन्दै ज्यान मार्ने धम्कीसमेत दिएको गुनासो गरिन् । कसैलाई व्यक्तिगत रुपमा नचिन्दा कुनै गलत नहुने धेरैको भनाइ पनि छ । साथै, एलिनाले कुनै स्टेज कार्यक्रममा देखे त्यहीँ मार्ने धम्की आएको सुनाइन् । उनले भनिन्, ‘मैले त्यति कुरा भन्दा फेक आइडीबाट ज्यान मार्ने धम्की आएको छ, तँ चितवन आइस् भने त्यहीँ सिध्याउँछु भनेका छन् । रविदाइलाई व्यक्तिगतरुपमा चिन्न नसकेर ज्यान जोखिममा पर्यो ।’
तर, जति धम्की आए पनि आफू हतास नभइ आफ्नो कर्ममा निरन्तर अघि बढ्ने गायिका चौहानले सुनाइन् । साथै, उनले परेको खण्डमा कानूनीरुपमा अघि बढ्ने पनि बताइन् । उनले भनिन्, ‘म डराएको छैन, धम्की आए पनि आओस्, मैले गल्ती गरेको छैन । परिआएको खण्डमा कानूनी उपाय अपनाउँछु । आफ्नो कर्ममा दृढका साथ लाग्छु ।’ पछिल्लो समय उनी नेपाली गीत संगीतमा नाम चलेकी गायिका हुन् । गायिका चौहानको माग धेरै स्थानका सांगीतिक कार्यक्रममा हुने गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar