काठमाडौं – सार्वजनिक यातायात क्षेत्रका मजदुरले गरेको विरोध प्रदर्शन भड्किएको मौका छोपेर लुटपाट मच्चाएको आशंकामा ४ जना पक्राउ परेका छन् । प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनामा अरू पनि संलग्न हुन सक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
जरिवाना रकम घटाउनुपर्ने र पाँच पटक ट्राफिक कारबाहीमा परे सवारी चालक अनुमतिपत्र रद्द हुने प्रावधान खारेज गर्नुपर्ने मागसहित यातायात मजदुर सोमबार प्रदर्शनमा उत्रिएका थिए । त्यस क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो ।
मजदुर संगठनहरूले नयाँ बसपार्क परिसरमा विरोध कार्यक्रम राखेका थिए । तर, बसपार्क व्यवस्थापनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्य प्रा.लि प्रशासनले कार्यक्रम राख्न दिएन । त्यसपछि रुष्ट मजदुरले नाराबाजी गर्न थालेपछि ल्होत्से समर्थित र पहिचान नभएका व्यक्तिहरूले मजदुरको कार्यक्रम बिथोलेकाले परिस्थिति हिंसात्मक बन्न पुगेको आन्दोलनरत पक्षको दाबी छ । दुवै पक्ष आम्नेसाम्ने बनेसँगै प्रदर्शनले उग्ररूप लिँदा प्रहरीका भ्यान जलाइएका थिए । प्रहरी बिटमा पनि आगजनी गरिएको थियो । अरू बेला सडकमा हुने प्रदर्शनमा अश्रुग्यास, पानीका फोहोरा प्रहार गरेर घटनालाई नियन्त्रणमा लिने प्रहरीले सोमबार भने बल प्रयोग गरेन, जसका कारण लुटपाट र हिंसात्मक घटना हुन पुग्यो ।
प्रधानमन्त्री एंव गृहमन्त्री पुष्पकमल दाहालकै पार्टी माओवादी र सत्ता गठबन्धनकै एमाले समर्थित यातायात मजदुरहरूले आन्दोलन गरेका कारण बल प्रयोग गरिए ‘माथिबाट हस्तक्षेप हुन सक्ने’ र आन्दोलनरत पक्षलाई राजनीतिक संरक्षण हुने जोखिम देखेर प्रहरीले बल प्रयोगतर्फ जान नचाहेको स्रोतको भनाइ छ । ‘बल प्रयोगबाट हुन सक्ने सम्भावित अप्रिय घटनापछिको अवस्था फिल्डमा खटिने सुरक्षाकर्मी कारबाही गरेर टुंगिने गरेको विगतका अनुभवले देखाउँछ । आदेश दिने र नेतृत्वमा रहने राजनीतिक व्यक्ति घटनाको जिम्मेवारी लिनभन्दा भाग्ने प्रवृत्ति छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘यसप्रति सुरक्षाकर्मीहरूमा ठूलो त्रासको भावना देखिन्छ, सायद सोमबारको घटना पनि त्यस्तै हुन सक्ने देखेर बल प्रयोग नभएको हो कि भन्ने आशंका गर्ने ठाउँ छ ।’
काठमाडौं प्रहरी वृत्त महाराजगन्जका डीएसपी अंगुर जीसीले पक्राउ परेकामाथि सूक्ष्म अनुसन्धान भइरहेको बताए । घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन अनि प्रत्यक्षदर्शीसँग सोधपुछ जारी रहेकाले अरूको पनि संलग्नता हुन सक्ने भएर पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनको भनाइ छ । लुटपाट र आगजनीमा संलग्नको खोजीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी र महाराजगन्ज प्रहरीको टोली खटिएको छ । प्रहरीले घटनास्थलका सीसीटीभीका फुटेज पनि संकलन गरिसकेको छ । ‘हिंसा भड्किएको मौका छोपेर एउटा हूल प्रवेश गरी लुटपाट मच्चाएको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले सोमबारको घटनामा तोडफोड, आगजनी, लुटपाट, सांघातिक आक्रमण, गुन्डागर्दीलगायतका अपराध गरेको कसुरमा संलग्नमाथि अनुसन्धान अघि बढाइएको बताए । तोडफोड र आगजनी गर्नेलाई एउटा पक्ष र त्यसको मौका छोपेर लुटपाट गर्नेलाई अर्को समूहमा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरिरहेको छ । घटनाको भोलिपल्ट मंगलबार गृह सचिव विनोदप्रकाश सिंहले काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दिवेश लोहनीलाई बोलाएर घटनाबारे जानकारी लिनुका साथै लुटपाटमा संलग्नलाई कारबाहीको दायारमा ल्याउन निर्देशन दिएका थिए ।
गृह प्रवक्ता जितेन्द्र बस्नेतले मजदुरको विरोध कार्यक्रम गर्न ल्होत्से प्रालि प्रशासनले नदिएपछि विवाद उत्पन्न भएको बताए । त्यसकै मौका छोपेर तोडफोड, आगजनी र लुटपाटका घटना भएकाले अपराधमा संलग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिइएको उनको भनाइ छ । प्रशासनले सहमति खोज्न र यातायात अवरुद्ध पारेर आह्वान गरिएको हडताल रोक्न आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र विभागका महानिर्देशक तुलसीनाथ गौतम राति पौने ९ बजेसम्म छलफलका लागि आन्दोलनरत पक्षलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कुरेर बसेका थिए । त्यसपछि पनि नआएपछि उनीहरू बाहिरिएका थिए । प्रशासनसँग छलफलमा नबसेका मजदुरका प्रतिनिधि मंगलबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा वार्तामा आएका थिए ।
सरकार र यातायात क्षेत्रका मजदुर प्रतिनिधिबीच ५ बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको छ । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, यातायात व्यवस्था विभाग, व्यवसायी र मजदुर प्रतिनिधिबीच सिंहदरबार भएको वार्ता भएको थियो । माग सम्बोधन गर्ने प्रतिबद्धतापछि आन्दोलनरत पक्ष हडतालबाट पछि हटेको हो ।
सहमतिअनुसार काठमाडौं उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारीसाधनका सम्बन्धमा उठेका विषयमा माघ २९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेल यातायात सञ्चालन गर्ने, सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायलाई अनुरोध गर्ने, सोमबारको नयाँ बसपार्क क्षेत्रको घटना दुःखद रहेको भन्दै लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष व्यक्तिलाई रिहाइ गर्ने सहमति भएको छ । यसअघि बनेको कार्यदलले यातायातसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने, पछिल्लो पटक गठित सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ तथा मजदुरका प्रतिनिधिलाई आवश्यकताअनुसार निम्त्याउने पनि सहमति भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar