गुल्मी – गुल्मी दरबार गाउँपालिका – १ की पुनम सर्तुङ्गी लघुवित्तको ऋण तिर्न नसकेर १५ महिनादेखि विस्थापित भएर बुटवलमा छिन् । उनले चार वर्षअघि सूर्योदय लघुवित्तबाट कुखुरा पालनका लागि जग्गा धितो राखेर ५ लाख र साधारण २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन् ।कुखुरा पालन व्यवसायमा घाटा भएपछि चर्को ब्याजको ऋण तिर्नै सकस भयो । त्यसमाथि लकडाउनका कारण भारतमा भएका श्रीमानको जागिरसमेत गुम्यो ।
छोराछोरी पढाइ खर्च र एउटा लघुवित्तको किस्ता तिर्न अरू लघुवित्तबाट ऋण लिन सुरु गरिन् । त्यस क्रममा उनले सूर्योदय, चौतारी, साधना, चारतारे, कालिका, उन्नति, स्पर्श, सारथि, मैत्री र ग्लोबलसमेत १० वटाबाट १५ लाखभन्दा बढी ऋण लिइन् । नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि एकल ग्राहक कर्जा सीमा भनेर जम्मा ७ लाख तोकेको छ तर लघुवित्तहरूले त्यो सीमा नाघेर मनपरी कर्जा प्रवाह गरे ।
लघुवित्तको सीमाविहीन कर्जाको पासोमा फसेपछि आफूमाथि फकाइफकाई ऋण दिने लघुवित्तबाटै अत्याचार सुरु भएको पुनमको भनाइ छ । ‘तोकिएअनुसार किस्ता तिर्न नसके पनि जति सक्छु त्यति तिरेर सबैको आधाभन्दा धेरै ऋण तिरिसकेकी थिएँ तर सूर्योदयका सरहरूले घिसारेर अफिसमै पुर्याई थुनेपछि भने गाउँमा बस्न सकिनँ,’ उनले भनिन् ।
गुल्मीकै धुर्कोट गाउँपालिका–६ की जुली पन्थीले मैत्री, छिमेकी, धौलागिरिसहित चारवटा संस्थाबाट लिएको ऋण ७ लाख पुग्यो । श्रीमान् घरफर्केपछि ऋणका बारेमा झगडा भयो । अन्ततः ऋण तिर्न नसकेपछि दुई बच्चाकी आमा जुली अर्घाखाँचीमा दोस्रो विवाह गरेर भागिन् । तर लघुवित्तहरूले फोन गरेर हैरानी पारेपछि उनको दोस्रो घरबार पनि बिग्रेको छ । ‘मैले ऋण लिएर खाए/मासेकी होइन, श्रीमान्को कमाइ राम्रो नभएपछि सबैको सल्लाहमा समूहबाट ऋण लिएकी थिएँ तर श्रीमान्ले बुझेनन्,’ उनले सुनाइन् ।
गुल्मी दरबारकी अंकिता पेमीका अनुसार लघुवित्तहरू गाउँ पसेपछि सुरुमा समूह गठन गर्छन् । समूहलाई विभिन्न तालिम दिन्छन् अनि बचत गर्न सुरु गर्छन् । त्यसपछि ऋण लिन प्रेरित गर्छन् । ‘समूहमा आबद्ध भएर तालिममा बसेपछि त ऋण नचाहिए पनि लिएर राखौं राखौं हुन्छ,’ उनी भन्छिन्, ‘अरू दिदीबहिनीले धमाधम ऋण लिन थालेपछि मैले पनि बचत गरेकी छु किन ऋण नलिने भनेर लिइहाल्छन् र फस्छन् ।’ उनका अनुसार ऋण लगानीका लागि लघुवित्तहरूले न महिलाको आयस्रोत हेर्छन् न धितो नै खोज्छन् । जति धेरै ऋण लिन पनि कुनै समस्या नभएपछि महिलाले एकै पटक ९/१० वटासम्म लघुवित्तबाट ऋण लिने गरेका छन् ।
छिमेकी लघुवित्त भने धुर्कोट गाउँपालिकामा बचतकर्ताको बचत फिर्ता नगरेर सम्पर्कविहीन भएको छ । ‘धुर्कोटमा छिमेकी लघुवित्तका हामी ५० भन्दा बढी सदस्यमध्ये हरेकको ३०/४० हजारभन्दा बढी बचत छ । दुःखको बेला काम लाग्ला भनेर जम्मा गरेको बचत फिर्ता नदिएर हैरान छ,’ स्थानीय श्यामकला खड्का भन्छिन्, ‘घरमा समस्या भयो, अहिलेसम्म बचत गरेको पैसाले फिर्ता लिन्छौं भनेपछि ५/६ महिनादेखि उनीहरू गाउँ आउनै छाडे, अब हामी हाम्रो पैसा खोज्न कहाँ जाने ?’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar