काठमाडौं – गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका विषयमा सर्वोच्च अदालतले मुख्यतः तीन विषयमा छिनोफानो गर्नेछ ।
पहिलो लामिछानेले विदेशको नागरिकता त्याग गरेको पाइएको कारण स्वतः नेपाली नागरिक रहने, दोस्रो नागरिकता त्याग गरेको निस्सा दर्ता नगरेको कारण उनको नागरिकता कायम नरहेको र तेस्रो लामिछानेले दोहोरो नागरिकता प्रयोग गरेको कारण फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न आदेश दिने ।
लामिछानेको सम्बन्धमा बुधवारबाट सुनुवाइ हुँदा वादी पक्षका अधिवक्ताहरूले लामिछाने नेपाली नागरिक कायम नभएको र उनले आफूसँग नभएको अधिकार प्रयोग गरी दल दर्ता, उम्मेदवारी दर्ता, सांसद पदमा निर्वाचित भएको भन्दै उनको सबै पद बदर गर्न माग गर्दै फौजदारी कसुरमा अनुसन्धान गरी सजायसमेत गर्न माग गर्ने तयारी गरेका छन् ।
वादी पक्षका वकिलहरूले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लाई नै मुख्य विषय बनाई लामिछाने नेपाली नागरिक वा उनले नागरिकता पुनः प्राप्ति नगरेको कारण उनी नेपाली नागरिक नरहेको दाबी गर्नेछन् । सोही आधारमा उनले प्राप्त गरेको पद कायम हुन नसक्ने वादी पक्षको दाबी रहनेछ ।
प्रतिवादी पक्षका वकिलहरूले भने नेपालमा रहेका कुनै पनि व्यक्ति नागरिकताविहीन रहन नसक्ने र लामिछानेले अमेरिकाको नागरिकता त्याग गरिसकेपछि स्वतः नेपाली नागरिक रहने भन्दै लामिछानेको बचाउ गर्नेछन् । लामिछाने नेपालमा आइ बसोबास गरिरहेको र उनले विदेशी नागरिकता त्याग गरिसकेको कारण पहिले कै नागरिकता कायम हुने भएकाले थप केही गरिरहनु नपर्ने जिकिर गर्नेछन् ।
सर्वोच्च अदालतमा पेस गरिएको मिसिलमा लामिछानेले एकैपटक दोहोरो नागरिकता तथा दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको भन्दै सो को कागजात समेत पेस भएको बताइएको छ । विदेशी नागरिक रहेकै समयमा निष्क्रिय भइसकेको नेपाली नागरिकता प्रयोग गरेमा त्यसलाई फौजदारी कसुर मानिन्छ र त्यो अपराध गरेको ठहर हुन्छ । यद्यपि त्यसको पुष्टि हुन भने बाँकी नै छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar