धनगढी – भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ ।
प्रारम्भिक जानकारीअनुसार आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको छ । बसमै यात्रारत टीकापुरका स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ र उनीहरुको परिचय खुलेको छैन । बसमा सवार अन्य केही घाइते भएका छन् । बसमा ६६ जना यात्रु रहेको खबर आएको छ ।
लखनउदेखि ३० किलोमिटर अगाडि बस दुर्घटना भएको हो । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको साउदले बताए । बसको नम्बर खुल्न सकेको छैन । टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन् । तर उनीहरु स्वेच्छिक रुपमा सञ्चालन हुन्छन् । सुदूरपश्चिम बस व्यवसायी समिति धनगढी काउन्टरका प्रतिनिधिले समितिसँग त्यसरी भारतबाट सञ्चालन हुने बस यातायातबारे कुनै जानकारी नभएको र जवाफदेही पनि नहुने बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले घटनाबारे अनौपचारिक जानकारी आएको भएपनि यथार्थ थाहा नभएको र बुझ्ने कार्य भइरहेको बताए । यसरी सञ्चालन हुने बस सेवाबारे आफूहरुलाई जानकारी पनि नहुने उनको भनाइ छ । उनले भने, ‘दुर्घटना भयो भन्ने समाचार आएको छ । तर उता (भारततर्फ) बाट आधिकारिक केही खबर आएको छैन ।’
स्थानीयका अनुसार यसरी भारत ओहोरदोहोर गर्ने बसहरु यहाँका समिति तथा बस व्यवसायीहरु आवद्ध हुँदैनन् । नेपाली बसहरु पनि त्यसरी सञ्चालन हुँदैनन् । यहाँका स्थानीय युवाहरुले यात्री खोज्ने र पठाउने चाँजोपाँजो गर्ने गर्छन् र उनीहरुहरुले त्यस बापत निश्चित प्रतिशत पारिश्रमिक पाउने गर्दछन् । प्रहरीका अनुसार यसरी सञ्चालन हुने बस व्यवसाय अवैध हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar