काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा विद्युत् लाइन काटिदिएको छ।
सुबिसुले भाडा सम्झौता विना नै पोल र फाइबरलगायत संरचना प्रयोग गरिरहेको र ठूलो रकम भाडा बक्यौता तिर्न बाँकी रहेकाले सुबिसुको काठमाडौँ र विराटनगरमा रहेको डाटा सेन्टरमा लाइन काटिएको विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले सुबिसुको विद्युत् लाइन काटीदिँदा धेरै स्थानमा सुबिसु इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ।
‘सुबिसुले आफ्नो सेवा सञ्चालक गरेदेखि नै विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गरेको छैन। भाडा सम्झौता गर्न आउन र हालसम्मको बक्यौता तिर्न पटक – पटक सूचना जारी गरेको भए पनि उसले अटेरी गरेपछि लाइन काटिएको हो’, विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने। उनका अनुसार सुबिसुले विद्युत् प्राधिकरणका संरचना अनधिकृत रुपमा प्रयोग गरिरहेको छ।
तर सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुली भने विद्युत् प्राधिकरणले विद्युत् ऐन विपरीत बिजुली काटिदिएको बताउँछन्। बिजुली काटिदिएपछि आज दिनभर जेनेरेटरलगायत वैकल्पिक स्रोतबाट विद्युत् प्रयोग गरेको उनको भनाइ छ। ‘आज जसोतसो सेवा दियौँ। वैकल्पिक ब्याट्रीबाट लामो समय विद्युत् आपूर्ति हुँदैन। यस्तो अवस्थामा सुबिसुका सबै ग्राहक प्रभावित हुन्छन्’, पराजुलीले भने।
विद्युत् प्राधिकरण र टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनीहरूबीच विद्युत् पोल र अप्टिकल फाइबरलगायत विद्युतीय संरचनाहरू भाडाको विषयलाई लिएर पछिल्लो पाँच वर्षदेखि विवाद चलिरहेको छ। अहिले अधिकांश टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकहरूले भाडा सम्झौताविना नै आफ्नो संरचना प्रयोग गरिरहेको विद्युत् प्राधिकरणको भनाइ छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar