मस्को – युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड शहरको रुसी सैन्य तालिम केन्द्रमा गोली चलेको छ ।
रुसी सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको रुसी समाचार एजेन्सीहरुले जानकारी दिएको छ ।
सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको हो ।
रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ । ‘युक्रेनविरुद्धको सैन्य अभियानमा स्वेच्छिक रुपमा भाग लिने इच्छा व्यक्त गर्ने व्यक्तिहरुलाई हतियार चलाउने तालिम दिने क्रममा आतंककारीहरुले साना हतियारले गोली चलाए,’ रुसको रक्षा मन्त्रालयले भनेको छ । आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन ।
गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिएका थिए । यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरैले देश छाडेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar