काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसमा पनि प्रभावशाली नेताहरुले विद्रोह गर्दै बागी उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेसमा पनि नेकपा एमालेकै हाराहारीमा बागी उम्मेदवारी परेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ १ मा दुई जनाले बागी उम्मेदवारी दिएका छन् । पौडेलविरुद्ध कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ – १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट तनहुँ – १ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । भ्रष्टाचार काण्डमा मुछिएका जोशीले ०७४ मा पनि पौडेलविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए । पौडेलको उजुरीपछि जोशीको उम्मेदवारी खारेज भएको थियो ।
तनहुँ १ मा विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव बास्तोलाले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचन अगाडि नै पार्टी परित्याग गरेका बास्तोलाले आइतबार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएपछि सिंह बागी उम्मेदवार बनेका छन् ।
प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ (ख) मा कांग्रेसबाटै विद्रोही उम्मेदवार बनेका छन् । कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले कांग्रेसका आधिकारिक उम्मेदवार देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।
धादिङ – २ मै केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन् । पार्टीले रामनाथ अधिकारीलाई टिकट दिएपछि धमलाले बागी उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै कांग्रेस नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी छिन् ।
कैलाली – ५ मा डिल्लीराज पन्तलाई गठबन्धनबाट उम्मेदवार बनाइएको छ । कांग्रेस नेता पुष्करनाथ ओझाले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतविरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले म्मेदवारी दिएका छन् ।
कांग्रेस नेता हरिमोहन भण्डारीले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । टिकट वितरणको विषयमा असन्तुष्ट भण्डारीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar