काठमाडौं – दसैँका लागि दैनिक ठुलो संख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन । वर्षामा बाढी र पहिरोले अवरुद्ध सडक पूर्णरूपमा खुलिसकेका छैनन् । दसैंका लागि घर फर्कने यात्रुको संख्या बढिरहँदा नुवाकोट जिल्लाको त्रिशूली – गल्छी सडक खण्डको बुधसिङघाटमा सुक्खा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । बेलकोटगढी नगरपालिका – ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डिएसपी रुपक खड्काले बताए ।
‘ठूलो पहिरो छ, तत्काल पहिरो पन्छाउन सक्ने अवस्था छैन । यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे–टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था छ’, उनले भने । उनका अनुसार, पहिरो सडकबाट त्रिशूली नदीसम्म पुगेको छ ।काडमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौँडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् । नेपालीहरूको महान पर्व बडा दसैं नजिकिए पनि देशभरका सडकको अवस्थामा भने सुधार आउन सकेको छैन । वर्षाका कारण खाल्डाखुल्डी भएका ठाउँमा टाल्ने काम अझै बाँकी छ । बर्सेनि सडकमा बढी खाल्डाखुल्डी भदौ र असोजमा देखिन्छ । असोजको दोस्रो सातासम्मको वर्षा तथा चाँडो दसैँ परेकाले सडकको अवस्था अपेक्षाअनुसार मर्मत भइनसकेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।
दसैँअगावै सबैतिरको सडकमा खाल्डा टालिसक्ने योजना भए पनि त्यसअनुसार काम हुन नसकिरहेको उनले बताए । विभागले अनुकूल स्थानमा सडक मर्मत गरिरहेको छ । उनले भने, ‘पानी नपरेको र काम गर्न सकिने ठाउँमा खाल्डारहित बनाइएको छ ।’दसैँका लागि लक्षित गरेर भदौ अन्तिम साताबाट मर्मत सुरु गरिएको विभागले जनाएको छ । मिलेको र सुकेको ठाउँमा खाल्डा टाल्ने काम भइरहेको छ । हाल महेन्द्र राजमार्ग, मुग्लिन–पोखरालगायतका सडकमा निर्माण कार्य भइरहेको छ । जहाँ नियमित पानी परिरहेको छ त्यहाँ काम गर्न नसकेकाले त्यहाँ खाल्डा देखिएको छ । सडकमा बढी समस्या नारायणगढ – बुटवल खण्डमा देखिएको छ । निरन्तर वर्षा र सवारीसाधन बढी भएकाले काम गर्न सजिलो छैन । पहिरो गएका ठाउँमा समेत काम गर्न सकिएको छैन । वर्षा रोकिएपछि सतह मिलाउने र कालोपत्रको काम गर्न सकिनेछ ।
अहिले साँफेबगर – मार्तडी, बेनी – जोमसोम, बेसीसहर – चामे, मुग्लिन – नारायणगढमा समस्या देखिएको छ । पहाडका सडकमा वर्षामा बिग्रिएकामा अझै काम गर्न नपाइएको जनाइएको छ । दसैँको समयमा पनि डिभिजन सडक कार्यालयले नियमित मर्मतको काम गर्ने भएको छ । संघीय सरकारको जिम्मेवारीमा अहिले ८० राजमार्गको झन्डै १ हजार ५ सय किलोमिटर सडक रहेको छ । जम्मा सडकमध्ये १० हजारमा किलोमिटरमा नै नियमित मर्मत आवश्यक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए । सम्बन्धित विभागले नियमित रूपमा आफैँले वा ठेक्कामार्फत मर्मत गराउँछ ।सडक नियमित मर्मतका लागि पहेँलो ज्याकेट लगाएर काम गर्ने २ हजार ६ सय कर्मचारी विभागसँग करारमा छन् । नियमित मर्मत गर्न पहाडमा तीन र तराईमा पाँच किमी हेर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ ।
उनीहरूले ससानो पहिरो टाल्ने, खाल्डो पुर्नेलगायतका काम गर्छन् । डिभिजनले आफ्नो उपकरण र जनशक्ति प्रयोग गरेर खाल्डा पर्नासाथ टाल्छन् । सामान्यतया सडक एकपटक निर्माण गरेपछि प्रत्येक पाँच/पाँच वर्षमा माथिबाट कालोपत्र थप्ने काम गर्नुपर्छ । वर्षाले कतिपय सडक पूर्ण र कतिपय आंशिकरूपमा अवरुद्ध छन् । त्यसमा कतिपय एकातर्फबाट र कतिपय पूर्ण सञ्चालनमा आइसकेको छ । गएको वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष देशभरका सडकका चाप बढिरहेका सडक खण्ड पटकपटक अवरुद्ध भएका छन् । अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar