अर्घाखाँची – छत्रदेव गाउँपालिका – ३ बल्कोटका पशुपति पाण्डे घरको ऋण तिर्न २३ वर्षमै साउदी गए । त्यहाँ दुई वर्ष बसे । त्यसपछि दुबईमा एक वर्ष र कतारमा ३ वर्ष काम गरे । कतारमा उनको तलब महिनाको २ लाख रुपैयाँ नेपाली थियो । त्यहाँको एक कम्पनीमा खरिद अधिकृत भएर काम गरे । कतारको मरुभूमिमा इरान, टर्की र साउदीबाट हवाईजहाजमा माटो ल्याएर टनेलमै गोलभेडा, सिमी, साग, ब्रोकाउलीलगायत व्यावसायिक तरकारी खेती गरेको देखे । कम्पनीले बेलाबेलामा त्यही तरकारी फार्ममा हेर्न लैजान्थ्यो । त्यसबेला उनलाई घरको माटो, हावापानी र उब्जनी भएका खेतबारीको झलझल्ती सम्झना आइरहन्थ्यो ।
तीन वर्षअघि उनी स्वदेश फर्किए । त्यसपछि बल्कोट गाउँमै च्याउ खेती सुरु गरे तर बजार सोचेजस्तो भएन । बारीमा लौका, घिरौला, करेला, काँक्रो, सिमी लगाए । तर, कोरोनाका कारण बिक्री गर्न पाएनन् । जन्मघर बल्कोट छाडेर सन्धिखर्क नगरपालिका–५ बलेवाङ फाँटमा ३० रोपनी खेत लिजमा लिएर अकबारे खुर्सानीको खेती सुरु गरे । गत वर्ष २५ लाखको कारोबार गर्दा सबै खर्च कटाएर ५ लाख रुपैयाँ बचत गरेको पाण्डेले सुनाए । सुरुवातमा खर्च बढी लागे पनि अब ५० लाखको कारोबारमा २० देखि २५ लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । ३० रोपनी खेतमा खुर्सानी फल्दै र पाक्दैछन् । पाकेका खुर्सानी बिक्री गर्न उनी काठमाडौंसम्म धाउँछन् । त्यहाँ कालीमाटी, बानेश्वर, जडीबुटी, उपत्यकाका अचार, छोप कम्पनी र सुपर मार्केटमा पुर्याएर थोकमा प्रतिकिलो १ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म बिक्री गर्छन् । ‘अकबरे खुर्सानीको माग अत्यधिक छ,’ उनले भने, ‘यसको खेती गर्दा बेग्लै आनन्द आयो । अब थप ३० रोपनी खेत भाडामा लिएर आउँदो वर्ष ६० रोपनी खेतमा खुर्सानी खेती गर्ने सोच बनाएको छु ।’
२०७० सालमा काठमाडौंको पुतलीसडकमा क्लिनिक खोलेका पाण्डेलाई १० लाख ऋण लाग्यो अनि साउदी हानिए । ‘विदेशमा काम गर्दा कृषि उद्यम गर्नेबारे राम्रोसँग प्रशिक्षण पाएँ,’ उनले भने, ‘हाम्रो माटोमा जे खेती गरे पनि फल्छ । ६० रोपनी खेतमा खुर्सानी उत्पादन गर्न मलका लागि मंसिरबाट जर्सी गाई पाल्ने योजना छ, १२ रोपनीमा घाँस खेती गर्छु ।’ कतारको महिनाको २ लाख रुपैयाँ तलबभन्दा आफ्नै गाउँमा श्रम गरेर कमाएको पैसाको बेग्लै आनन्द हुने उनले बताए । उनले खुर्सानीको आचार पनि बनाएर बिक्री गर्छन् । गाउँका युवा रोजगारी खोज्दै विदेश जानेको लहर थियो । तर, उनले गरेको खुर्सानी खेतीबाट बल्कोट गाउँका २० जना युवाले खुर्सानी खेती सुरु गरेका छन् । बल्कोटका हरि पाण्डेले ७ रोपनीमा खुर्सानी खेती गरेका छन् । ‘पशुपति दाइकै देखेरे अन्न उब्जनी हुने बारीमा खुर्सानी खेती गरेको हुँ,’ उनले भने, ‘म मलेसिया जाने तयारीमा थिएँ । यतै राम्रो हुने देखेपछि भिसा सिरानीमुनि राखेर खुर्सानी खेतीमा लागेको हुँ ।’ मलेसिया ३ वर्ष बसेर छुट्टीमा घर आएका हरि फेरि विदेश जाने तयारीमा थिए । पशुपतिले गाउँभरको खुर्सानी खरिद गर्ने वचन दिएपछि हरिसहित २० जना युवा उत्साहित भएरै खुर्सानी खेतीमा लागेको उनले बताए । आफैं बारीमा खनजोत गर्ने, खुर्सानी स्याहार गर्नेमा युवाहरू व्यस्त छन् ।
पाणिनि गाउँपालिका–४ नियाली देउरालीका शंकर घिमिरेले चार वर्ष मलेसियामा रोजगारी गरे । ‘मलेसिया बस्दा धेरै दुःख पाएँ, त्यसपछि घरमै फर्केर भैसी पाल्न थालेको छु,’ उनले भने, ‘पुर्खौल्यी सम्पत्तिमै भैंसी पालेर दैनिक ६० लिटर दूध बिक्री गर्छु । दूध बिहानै बसमा पाल्पाको तानसेन पुग्छ ।’ रोजगारी खोज्दै विदेश जाने युवा अहिले गाउँमै रोकिएका छन् । ‘बिहान दूध संकलन केन्द्रमा लैजान्छु, दिनभर खर्यानमा घाँस काटेर ल्याउँछु, भैसीलाई पेटभरि घाँस कुँडो खुवाउँदा दूध बढाउँछ,’ उनले भने, ‘बारीमा तरकारी खेती छ । दूधसँगै बसमा तरकारी पढाइदिन्छु, बेलुका त्यही बसले पैसा ल्याइदिन्छ ।’ गाउँमा पाखोबारी छ । भैंसी पाल्दा दूध बेच्न पाइन्छ । भैंसीको मल र पिसाब संकलन गरेर अन्नबाली, तरकारीमा राख्दा उत्पादन तेब्बर हुन्छ । ‘गहुँतले बारीमा मकै, गहुँ, कोदो, फापर, तोरी तेब्बर फल्छ,’ उनले भने, ‘आफैं उत्पादन गरेको अर्गानिक खान पाइयो, उपभोक्तालाई बजारमा पठाएर दूध, तरकारीबाट पैसा आयो । बेग्लै आनन्दको जिन्दगी छ ।’
डाँडोमा स्वच्छ हावापानी छ । अहिले नियाली गाउँका १ सय जना कृषकले दूध बेच्छन् । त्यसमध्ये ६० जना पढेलेखेका युवा छन् । ‘पहिला धेरै दूध हुँदा खिर, कुराउनी पकाएर खाइन्थ्यो, बेचिँदैनथ्यो,’ नियाली दूध उत्पादन संस्थाका अध्यक्ष यमलाल पाण्डेले भने, ‘अहिले त धमाधम बिक्री भएर पैसा आउँछ । विदेशबाट फर्केर आएका युवाले गाई/भैंसी पाल्न सुरु गरेर गाउँलाई नै परिवर्तन गराए ।’ बजारबाट व्यापारीले ताजा तरकारी पठाइदिन फोन गर्छन् । घ्यू माग्छन् । गोठमा गाईभैँसी, पाखोबारीमा तरकारी उत्पादनले गाउँमै युवा स्वरोजगार उन्मुख भएका छन् । अडगुरीका तारादीपक न्यौपाने १४ वर्ष साउदी अरब र पुनाराम भुसाल चार वर्ष कतारमा बसे । वैदेशिक रोजगारीमा गएर घरको ऋण तिरेर भ्याए । कमाएको पैसाले तीनथुप्रेमा शिवालय पोल्टी फार्म खोलेर ६ हजार कुखुरा पालेका छन् । त्यहाँ अण्डा उत्पादन हुन्छ । ३५ रोपनी खेत भाडामा लिएका छन् । सात जनाले आठ–आठ लाख रुपैयाँ सेयर लगानी गरेर खोलेको फार्मले राम्रो आम्दानी दिएको छ ।
‘६ वर्षदेखि अण्डा उत्पादन गरिरहेको छु,’ उनले भने, ‘कुखुरालाई दानापानी, हेरचाह गर्ने, बजारमा अण्डा बेच्न र बजार खोज्ने गर्छु । केही ग्राहक फार्ममै आएर किन्छन् ।’ गाउँमै ठूलो कुखुरा फार्मले बेग्लै आनन्द दिएको उनले बताए । ‘अब विदेश जाने कुरा छैन,’ उनले भने, ‘अण्डासँगै खेतमा लौका, सिमी, आलुलगायत तरकारी उत्पादन छ । विदेश गएर पैसा कमाएपछि सहरमा घर बनाएर बस्न मन लागेन, आफ्नै जन्मठाउँमै कृषि उद्यम गरेको छु ।’ फार्मबाट दैनिक ४ हजार अण्डा उत्पादन हुने उनले सुनाए ।
पाणिनि गाउँपालिका–१ सिम्लेका रेवतीप्रसाद पौडेलका घरमा केही बोट सुन्तला थिए । सुन्तला नातेदार र साथीभाइलाई बाँडिन्थ्यो । १५ वर्षअघि रोजगारी खोज्दै साउदी पुगे । त्यहाँ तीन वर्ष काम गरेर फर्किए । बुटवल, काठमाडौंका बजारमा सुन्तला बिक्री भएको देखे । त्यहाँका व्यापारीले सुन्तला किनिदिने आश्वास दिएपछि गाउँ फर्केर बारीभारि सुन्तला खेती गरे । भएका बोटलाई मलजल गरेर धेरै र ठूला दाना फलाए । पाकेका सुन्तला बजार पठाएर पैसा आउन थाल्यो । उनी उत्साहित भए । ‘साउदीबाट फर्केर फेरि उतै जाने तयारीमा थिएँ, सुन्तलाबाट आम्दानी हुन थाल्यो,’ उनले भने, ‘सुन्तलाका बोटमुनि पिंडालु, अदुवा, प्याज, लसुन खेती गरें, त्यो पनि बिक्री भयो । दोहोरो बालीबाट विदेशभन्दा यहीँ पैसा धेरै भएपछि म यतै रोकिएँ ।’ उनको बारी र खर्यानका १२ सयभन्दा बढी सुन्तलाका बोटले फल दिन्छन् । तरकारी र सुन्तलाबाट वर्षमा ६ लाखभन्दा बढी आम्दानी हुने उनले बताए ।
‘गाउँमै केही उद्यम गर्न पाए, रोजगारी खोज्दै विदेश जाने रहर कहाँ हुन्छ र ? पुर्ख्यौली थलोमा नातेदारलाई खुवाउने सुन्तलालाई विस्तार गरी व्यावसायिक खेती गरेको छु,’ उनले भने, ‘बारीभरि फल दिने सुन्तलाका बोट छन् । बोटभित्र काउली, साग, मुलासहित तरकारी फलाएको छु, यसमै म रमेको छु, अब विदेश जाने कुरा नगरम् ।’ जिल्लाकै धेरै सुन्तला उत्पादन हुने गाउँ हो, सिम्ले । अहिले डेढ सय कृषकले अन्नखेती छाडेर व्यावसायिक सुन्तला खेती गरेका छन् । यहाँ सुन्तलाबाट वर्षमा ४ करोड रुपैयाँ गाउँमा भित्रिन्छ । पढेलेखेका युवाले बारी र खर्यानमा सुन्तला खेती गरेका छन् । ‘वैदेशिक रोजगारीमा जाने युवालाई सुन्तला खेतीले गाउँमै रोकेको छ,’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar