मोरङ – ‘गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ’ भन्ने गतिलो उदाहरण बनेका छन्, मोरङ सुनवर्सी नगरपालिका – १ का गणेश राई ।
बन्दाबन्दीको असरले निर्माण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइनभ्याइ छ । राईले दुई वर्षअघि ठूलो चुनौती मोलेर एक करोडको लगानीमा फार्म सञ्चालन गरेका थिए । ०७७ सालमा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गुरेका उनले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसकेका छन् । तीन महिनासम्म १५/२० कामदार लगाएर रोपेको ३ हजार २ सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल)को ड्रागनफ्रुट लटरम्मै फलेको छ । दुई वर्ष अगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकै थिएनन् ।
राईले आफ्नै तीन बिघा क्षेत्रफलमा एक करोडभन्दा बढीको लगानी गरेका थिए । उक्त ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक १ सय ५० केजी फल फल्ने राईको भनाइ थियो । स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो संख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । राईले यो याममा मात्र ११ हजार केजी फल र २८ हजार बिरुवा बेचेका छन् । बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी ७ सय ५० पर्छ भने बिरुवाको २ सय ५० पर्ने गरेको छ ।
दैनिक ६ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त राईले एकै याममा १५/१६ पटक फल दिने गरेकोे र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताए । किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ । ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले समेत स्थान पाएको छ ।
सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौसी र करेसाबारीमा यो फल रोप्दै आएका छन् । कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ । सरकारले ड्रागनफ्रुट खेतीमा युवालाई आकर्षण गर्नसके आफ्नै देशमा व्यवसाय र रोजगार बढ्ने तथा युवा बिदेसिनुपर्ने समस्या घट्ने देखिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar