काठमाडौं – पार्टी एकताको तयारीमा रहेका सत्ता गठबन्धनमा आबद्ध दुई वामपन्थी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणापत्र लिएर आगामी निर्वाचनमा होमिने तयारी गरेका छन् ।
यी दुई दलका शीर्ष नेताहरूबीच सोमबार ललितपुरको हात्तीवनस्थित एक अपार्टमेन्टमा भएको बैठकले यस्तो सहमति गरेको हो । बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल सहभागी थिए । बैठकले दुबै दलले आपसी सहमतिमा एउटै घोषणापत्र तयार पार्ने र सोही घोषणापत्रलाई आधिकारिक मान्दै प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा होमिने निर्णय गरेको हो ।
उक्त बैठकले पार्टी एकताका लागि ‘एकता संयोजन समिति’ बनाउने सहमति पनि जुटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुँदै छ । बैठकमा उपस्थित माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार केही दिनभित्रै पार्टी एकताका लागि ‘एकता संयोजन समिति’ बनाउने सहमति भएको छ । यसअघि भदौ १ गते एकीकृत समाजवादीको सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न ‘एकता संयोजन समिति’ बनाउने निर्णय गरेको थियो । त्यसको एक दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकताको तयारी भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
यी दुबै पार्टीबीच एकताको तयारी अगाडि बढे पार्टी एकता कहिले हुने भन्ने विषयमा भने केही बताइएको छैन । सम्भवतः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नै औपचारिक रूपमा पार्टी एकताको कार्य अघि बढ्ने अनुमान गरिएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि यस्तै संकेत गरेका छन् । उनका अनुसार, तत्काल ‘एकता संयोजन समिति’ बनाउने र संयोजन समितिलाई नै निर्वाचनपछि पार्टी एकता गर्नेगरी त्यसको ‘मोडालिटी’ तयार पार्ने जिम्मेबारी दिने सहमति भएको छ ।
सोमबार ललितपुरमा भएको बैठकमा यी दुबै पार्टीका शीर्ष नेताबीच आगामी निर्वाचनको विषयलाई लिएर पनि गम्भीर छलफल भएको बताइएको छ । बैठकमा चुनावी रणनीति, सिट बाँडफाँड, सत्ता गठबन्धनमा आबद्ध अन्य दलको अवस्था, कांग्रेससँगको तालमेललगायत विषयमा छलफल भएको छ ।
सत्ता गठबन्धन दलको सोमबार बसेको बैठकले पनि सिट बाँडफाँडको विषयमा कुनै निश्कर्ष निकाल्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल भए पनि सिट बाँडफाँडको विषयमा भने टुंगो लाग्न सकेन ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धन दलहरुले कार्यदल गठन गरेका थिए । तर, उक्त कार्यदलले सिट बाँडफाँडको विषयमा कुनै निश्कर्ष निकाल्न नसकेपछि शीर्ष नेताहरु आफै छलफलमा जुटेका हुन् ।
शीर्ष नेताहरुको सोमबारको बैठकमा दलहरुले धारणा र प्रस्ताव अगाडि सारेका थिए । दलहरुले अघि सारेको विभिन्न प्रस्तावमाथि छलफल भए पनि कुनै निश्कर्ष निस्कन नसकेको बैठकमा सहभागी एक नेताले बताए । सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने बैठक निष्कर्ष नजिक पुगेको दाबी गरेका छन् । उनका अनुसार मंगलबार दिउँसो पुनः बैठक बसेर ठोस निश्कर्ष निकाल्ने प्रयास गरिने छ । बैठकमा सत्ता गठबन्धनमा अन्य दललाई पनि समेट्ने विषयमा पनि छलफल भएको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar