धादिङ – सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसंगै दलहरू निर्वाचनको तयारीमा जुटेका छन् ।
सरकारले आगामी मंसिर ४ गतेका लागी निर्वाचनको मिती घोषणा गरेसंगै दलका नेताहरूले निर्वाचनको तयारी संगै उम्मेदवारीका लागि आ–आफ्नो चुनाव क्षेत्र लक्षित गतिविधिमा सक्रियता बढाउन थालेका हुन् । यसै सन्दर्भमा प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ लाई निकै चासोका साथ हेरिएको छ ।
यो क्षेत्रमा ‘हेभी वेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले निकै चासोका साथ हेरिएको हो । यो क्षेत्र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको निर्वाचन क्षेत्र भएकाले पनि महत्वका साथ हेरिएको छ । दुवै नेताको गृह पालिका पनि सोही क्षेत्रमै पर्छ । दुवै नेता धादिङको गजुरी गाउँपालिकाका बासिन्दा र मतदाता हुन् । दुवै नेता सत्ता गठबन्धनमा आबद्ध प्रमुख २ दलका प्रभावशाली नेता हुन् ।
मुख्यमन्त्री पाण्डे नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् भने आर्थिक मामिला मन्त्री जम्कट्टेल नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुन् । यो क्षेत्र विगतदेखि नै कम्युनिष्टहरुको गढ हो भने यो क्षेत्रमा नेपाली काँग्रेसको प्रभाव कमजोर छ भने माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी र नेकपा एमालेको प्रभाव भने राम्रो छ । सोहि कारण आगामी निर्वाचनमा यो क्षेत्रमा सत्ता गठबन्धनका मुख्य तीन दलबीच भागबण्डामा प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।
पछिल्लो समय आफ्नो संगठनलाई सक्रिय तुल्याएर अघि बढेको काँग्रेसले सो क्षेत्रमा प्रभाव बढाएको देखिन्छ । जसका कारण काँग्रेसले पनि प्रतिनिधिसभातर्फको सो क्षेत्रमा आफ्नो दाबी गर्दै आएको देखिन्छ ।
२०७४ को निर्वाचनमा सो क्षेत्रबाट तत्कालीन समयमा एमाले र माओवादी केन्द्र बीचको गठबन्धनबाट सो क्षेत्रमा एमालेका भूमिप्रसाद त्रिपाठीले जित हात पारेका थिए । एमाले धादिङका अध्यक्षसमेत रहेका त्रिपाठीले २७ हजार १५३ मतले काँग्रेसका उम्मेदवार विश्वप्रसाद अर्याललाई पराजित गरेका थिए । त्रिपाठीले ४९ हजार १२१ मत पाउँदा अर्यालले २१ हजार ९६५ मत पाएका थिए । आगामी निर्वाचनमा पनि एमालेले त्रिपाठीलाई नै उम्मेदवार बनाउने लगभग पक्का छ ।
यता, एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे अब प्रदेशसभा छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तरखरमा छन् । ०७४ सालको निर्वाचनमा पाण्डे सोहि क्षेत्रको प्रदेशसभातर्फ उम्मेदवार बनेका थिए ।माओवादी केन्द्र र एमालेको गठबन्धनबाट प्रदेशसभामा चुनाव लडेका पाण्डेले काँग्रेसका मधुकुमार श्रेष्ठलाई पराजित गरेका थिए । पाण्डेले २७ हजार ३३२ मत पाउँदा काँग्रेसका श्रेष्ठले १३ हजार ६४७ मत पाएका थिए ।
एमाले विभाजनपछि एकीकृत समाजवादीमा आबद्ध भएका पाण्डे हाल गठबन्धनका दलको सहयोगमा बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् । आगामी निर्वाचनमा सो क्षेत्रमा गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचन लड्ने पाण्डेको तयारी छ । पाण्डे २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा लगातार ३ पटक निर्वाचित भएका उनी २०६३ जेठ ८ देखि २०६३ चैत १८ गते सम्म स्थानीय विकास मन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । त्यस्तै उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर – ३ बाट निर्वाचित भएका थिए ।
यता माओवादी केन्द्रका प्रभावशाली नेता जम्कट्टेल पनि सोही क्षेत्रबाट प्रतिनिधिसभातर्फ निर्वाचन लड्ने तयारीमा जुटेका छन् । उनी कुनै पनि अवस्थामा प्रतिनिधिसभाको टिकट लिने दौडमा छन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभातर्फको २ नम्बरबाट निर्वाचन जितेका जम्कट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदै गठबन्धनको सरकार बन्दा पुनः आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । उनले ०७४ को निर्वाचनमा काँग्रेसका प्रभात किरण सुवेदी शिवलाई पराजित गरेका थिए । उनले २३ हजार ३४२ मत ल्याउँदा काँग्रेसका सुवेदीले १० हजार ४०७ मत पाएका थिए । जम्कट्टेल २०६४ सालमा धादिङबाटै माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
यता काँग्रेस पनि सो क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने तयारीमा जुटेको छ । काँग्रेसबाट गत निर्वाचनमा पराजित भएका अर्याल मुख्य दावेदारको रूपमा प्रस्तुत भएका छन् भने दोस्रो वरीयतामा प्रदेशसभा क्षेत्र नम्बर २ मा जम्कट्टेलसँग पराजित भएका सुवेदी छन् । विगतको निर्वाचनमा माओवादी केन्द्र र एमालेको एलाइन्सका कारण काँग्रेसका उम्मेदवारले फराकिलो मतान्तरले हार्नुपरेको काँग्रेसको विश्लेषण छ । यस पटक भने सो क्षेत्रमा एमाले र माओवादी केन्द्रको सरहको अवस्थामा काँग्रेस पुगेको दाबी काँग्रेसको दावी छ ।
धादिङ – १ को लेखाजोखा यस्तो छ :
५ वटा गाउँपालिका र एक नगरपालिका समेटेर बनेको प्रतिनिधिसभा तर्फको धादिङ – १ निर्वाचन क्षेत्रमा एमाले विरुद्ध गठबन्धन एकजुट भएर जाने देखिएको छ । निर्वाचनको मिति तोकिएसँगै धादिङ – १ मा को नेता कहाँ उठ्ने र निर्वाचनको मतका बारेमा लेखाजोखा सुरु भइसकेको छ ।
धादिङ – १ मा गजुरी, थाक्रे, गल्छी, बेनीघाट, सिद्धलेक गाउँपालिका र धुनीवेसी नगरपालिका पर्दछन् । २०७४ को निर्वाचनमा सो क्षेत्रका अधिकांश पालिकाको प्रमुख र उपप्रमुख पदमा एमालेको वर्चश्व थियो । माओवादी केन्द्रले सो क्षेत्रको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्ष पदमा जित निकाल्दा काँग्रेसले सोही गाउँपालिकाको उपाध्यक्षभन्दा बाहेक अन्य कुनै पनि पालिकामा जित्न सकेको थिएन । एमालेले भने धुनीवेसी नगरपालिकाको प्रमुख र उपप्रमुख सहित गजुरी, गल्छी, थाक्रे, सिद्धलेक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जितेको थियो ।
२०७९ को स्थानीय तह निर्वाचनमा भने एमालेले गल्छी र थाक्रे गाउँपालिकाको अध्यक्ष पदमा मात्र जित्न सक्यो । यता, एकीकृत समाजवादीले धुनीवेसी नगरपालिकाको प्रमुख, बेनीघाट रोराङ र सिद्धलेकको गाँउपालिकाको उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले ३ पालिकाको अध्यक्ष सहित एक पालिकाको उपाध्यक्ष पद हात पा¥यो । माओवादी केन्द्रले गजुरी, गल्छी, बेनीघाट रोराङको अध्यक्ष र थाक्रेको उपाध्यक्ष पदमा जित हात पा¥यो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar