काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन् । उमेरले ७० लागेका ओली पछिल्लो समय पार्टीको आन्तरिक राजनीतिभित्रै विभाजित अवस्थामा छन् । पछिल्लो समय राजनीतिक रुपमा सिथिल ओली आफ्ना विभिन्न गतिविधिका कारण अहिले पनि नेपाली राजनीतिको केन्द्रमा छन् ।
समग्रमा उनी हरक्षण तरोताजा देखिन्छन् र आफ्नो शब्दबाणले सधैं आफुसँग फरक मत राख्नेहरुलाई आहत पारिरहन्छन् । आफ्नो मनमा लागेको मात्र गर्ने र अरुले दिएको सल्लाहलाई हत्तपत्त विश्वास नगर्ने स्वभावका धनि ओली एउटै मञ्चबाट धेरैलाई हायलकायम पार्ने क्षमता पनि राख्छन् । ‘ओलीको बोलीले’ नेपाली राजनीतिमा अधिकांश नेता अक्कबक्क पर्छन् ।सरकारले बिहबिार मात्र संघ (प्रतिनिधिसभा) र प्रदेशसभाको चुनावको मिति घोषणा गरेको छ । आगामी मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि ‘चरम महत्वाकांक्षा’ का धनि ओली चुप लागेर बस्ने कुरै आउँदैन । विगतमा दुई–दुई पटक प्रधानमन्त्रीको पदमा आसिन भइसकेका ओलीले पुनः सत्तामा विराजमान हुने सपना अझै त्यागेका छैनन् । अझै पनि उनी आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने ठोकुवा गर्दै पार्टीपंक्ति र कार्यकर्तामाझ भाषण दिइरहेका हुन्छन् ।त्यसका लागि चुनाव नै एकमात्र माध्यम पनि हो ।
त्यसैले पनि सत्तारुढ गठबन्धन दलले चुनावको मिति घोषणा गर्दा ओलीले त्यसको स्वागत नै गरेका छन् । अन्यथा, विपक्षीको सैबैभन्दा ठुलो धर्म भनेकै सत्ता पक्षले गरेका काम–कारवाहीको विरोध गर्नु हो । पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा देशका ठुला वामपन्थी शक्तिहरु एकजुट थिए, नेकपाको नाममा । भारतले एकतर्फी रुपमा नाकाबन्दी लगाउँदा चरम राष्ट्रबादको नारा दिएर आम नेपालीको विश्वास जित्न सफल ओली करिब दुई तिहाई सांसदको विश्वास हातमा लिएर लामै समय प्रधानमन्त्रीको पदमा आसिन पनि रहे । तर, आफुले जनतालाई दिएका ठुला–ठुला आश्वासन र उनको तिकडम तीन वर्ष पनि टिक्क सकेन । यतिबेला नेकपा विभाजित अवस्थामा छ । नेपाली राजनीतिबाट लगभग हराइसकेको माओवादी केन्द्र अहिले सत्ताको दोश्रो पार्टी बन्न पुगेको छ ।कुनै समय ओलीलाई अत्यन्तै सजिलो वहुमतसहित सत्तामा आसिन गराउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी अहिले एमालेसँग विभाजित भएर सत्तामा विराजमान छन् ।
विगतका आफ्ना सहयात्रीहरुकै कारण ओलीको आगामी सत्तारोहण लगभग अनिश्चित बनेको । कारण, कम्युनिष्ट राजनीतिका दुई प्रभावशाली दल माओवादी केन्द्र र नेकपा समाजवादी अहिले ओलीको नामसमेत सुन्न नचाहने अवस्थामा छन् ।ओलीले प्रधानमन्त्रीका रुपमा विगतमा दुई–दुई पटक संसद विघटन गरेर पनि सर्वभौमसत्ता सम्पन्न ब्यवस्थापिकाप्रतिको आफ्नो विश्वास समेत गुमाए । सम्मानित न्यायालयले नरोकेको भए सम्भवतः आगामी मंसिर ४ मा हुने निर्वाचन यसअघि नै सम्पन्न भइसकेको हुन्थ्यो । त्यसमाथि सत्ता गठबन्धनका रुपमा विगतमा पटक–पटक सरकारको नेतृत्व गरिसकेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा अहिले एकै ठाउँमा उभिएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि सत्ता गठबन्धन दलसामु आफु निरीह सावित भएको यथार्थ ओलीले राम्ररी बुझिसकेका छन् । तर, पनि चतुर राजनीतिज्ञ ओलीले राजनीतक टुक्का फाल्न छाडेका छैनन् । उनी अहिले पनि मनोगत प्रक्षेपण छाड्छन्, ‘संघीय चुनावमा एमाले पहिलो पार्टी हुन्छ र सरकार एमालेले नै चलाउँछ ।’
प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन कायमै रहने भएपछि एमाले अध्यक्ष ओली थप दवावमा पर्नु स्वभाविकै हो । त्यही भएर पनि ओली अहिले हतासमा छन् । यस्तो स्थितिमा सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि ओली अत्तालिनु पनि उत्तिकै स्वभाविक हो । आफ्नो हठी स्वभावका कारण विगतमा उनले न आफुले जनतासामु गरेका वाचा पुरा गर्न सके न त आफुसामु सबैभन्दा ठुलो चुनौतिका रुपमा रहेको सत्ता गठबन्धनलाई नै तोड्न सके । पछिल्लो समय यथार्थको धरातलमा ओर्लंदै गएका एमाले अध्यक्ष ओलीले पुनः आफ्नो पुरानै शैलीलाई चुनावी हतियारका रुपमा प्रयोग गर्न खोजेको सन्देश दिएका छन् । त्यो हतियार हो, ‘ओलीको पुरानै शैलीको बोली’ । सरकारले चुनावको मिति घोषणा गरेको भोलिपल्टै एमाले अध्यक्ष ओलीले विपक्षीहरुमाथि आफ्नो शब्दवाण प्रहार तिब्र पारेका छन् । पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार आयोजित एक कार्यक्रममा न्यायालय, संसद, सरकार, सत्ता गठबन्धन दल र एकीकृत समाजवादीको चर्को आलोचना गरे । उनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेकोमा पनि आक्रोश व्यक्त गरे ।
कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा उनले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरे ।उनले हाल निलम्बनमा रहेका तात्कालीन प्रधानन्यायाधीश जबरालाई ‘डामेर छाडेको साँढे’ को सँज्ञा समेत दिन भ्याए । पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै ओलीले भने, ‘महाअभियोग प्रस्ततावको छिनोफानो गर्नु पर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’ ओलीले संसद बैठकमा महाअभियोगको प्रस्तावलाई टेबुल नगरे भन्दै सभामुख सापकोटा सरकारको खेलौनाजस्तो भएको आरोप पनि लगाए ।
एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने धारणा पनि ब्यक्त गरे । उनले पार्टीका सबै नेता–कार्यकर्ताले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने धारणा ब्यक्त गरे । ‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । हामीले संगठित र योजनाबद्ध रूपमा काम ग¥यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने । ओलीले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसलाई ‘बञ्चरो’ को सँज्ञा दिएका छन् । ओली अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र भएको बताउँछन् । ‘अहिले पनि कांग्रेस भनेको बन्चरोमात्र हो । बिँड भनेको कम्युनिस्टधारी काठ हुन् । जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ,’ उनले भने । ओलीले अहिलेको पाँच दलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको पनि बताएका छन् । तर, अहिले ओली कसैसँग तर्र्सिएका छन् भने त्यो हो, पाँच दलीय गठबन्धन । ओलीको आहतले भन्छ, ‘पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने हो भने देश ध्वस्त बन्छ ।’ तर, झन्डै दुई तिहाई सरकारको नेतृतव गरेका ओलीले न भ्रष्टाचार नियन्त्रण गर्नसके, न त पार्टीभित्रै सन्तुलित राजनीति गर्न सके ।
सत्तामा हुँदा भ्रष्टाचारको एउटै अनुसन्धान एवं छानविन नगर्ने ओली अहिले भने बर्तमान सरकारलाई भ्रष्टाचारको नाइके भन्न पछि पर्दैनन् । उनले इतिहासमै अहिलेजस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको विभिन्न कार्यक्रममा दाबी गर्दै आएका छन् । ‘राज्यसत्ताको योभन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने भएको छ । कति सारो खेलवाड ?’ शुक्रबार आयोजित कार्यक्रमा ओलीले योसमेत भन्न भ्याए । उनलाई निकटबाटै बुझ्नेहरुका अनुसार ओली एकांकी, सत्ताको भोगी र दलभित्रका चतुर खेलाली हुन् । उनीहरुका अनुसार, विगतमा दुई–दुईपटक प्रधानमन्त्रीको कुर्सीमा बसिसकेका ओलीको बोली, विचार र कार्यशैली भने एउटा दलको सामान्य कार्यकर्ताभन्दा पनि तल्लो स्तरको देखिन्छ । संघीय चुनाव आउँदैछ । चुनावी नतिजाले नै ओली र समग्र नेकपा एमालेको भाग्य निर्धारण गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar