काठमाडौं – बुधबार साँझ एकाएक प्रहरीमा सूचना आयो, ‘चिनियाँ नागरिक अपहरण, सकुशल रिहा गर्न एक करोडको फिरौती ।’ प्रहरी सशंकित बन्यो ।
चिनियाँ नागरिक अपहरणमा परेपछि नेपालस्थित चिनियाँ दुतावासले समेत तत्कालै सोधीखोजी गर्ने भएकाले प्रहरी अनुसन्धानमा जुट्यो । अपहरणकारीले बुधबार साँझ सात बजे सुरुमा चिनियाँ नागरिक याङयाङका दोभाषे सूर्यबहादुर राईलाई अपहरण गरेको थियो । त्यसपछि अपहरणकारीले राईसँग चिनियाँ नागरिकको बारेमा जानकारी लिएका थिए । राईले चिनियाँ नागरिकका बारेमा जानकारी दिएपछि अपहरणकारीले याङयाङलाई अपहरण गरेका थिए ।
खरेल टोलमा बस्ने याङयाङलाई एक घण्टा बन्धक बनाएर अपहरणकारीले नजिकका व्यक्तिलाई फोन गरी सुरक्षित फिर्ता लैजाने भए एक करोड रुपैयाँ नगद लिएर आउन भन्दै फिरौती मागेका थिए । त्यही सूचना प्रहरीसम्म पुगेको थियो । सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्तहरू दरबार मार्ग, लैनचौर, महाराजगञ्ज र माली गाउँका प्रहरी टोली खटिएका थिए । लामो समयको बार्गेनिङपछि राती साढे ११ बजे अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती पाए चिनियाँ नागरिक याङयाङ र उनका दोभाषे राईलाई छाड्ने सहमति भयो ।
लाजिम्पाटबाट अपहरित दुई व्यक्तिलाई अपहरणकारीले नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्यूठान होटल एन्ड लजमा राखेर बन्धक बनाई फिरौती मागेका थिए । चिनियाँ नागरिक याङयाङका निकट व्यक्तिसँगको सम्पर्कमा रहेका प्रहरीले अपहरणकारीसँग फिरौतिमा बार्गेनिङ गरेपछि उनीहरू ५० लाखमा छाडन तयार भएका थिए । पैसा लिन गोगबुस्थित बिजी मल अगाडी बोलाएपछि प्रहरीले अपहरणमा संलग्न ६ जनालाई पक्राउ गर्न सफल भयो ।
प्रहरीले गोरखा आरुघाट गाउपालिका–७ घर भई रानीबारी बस्ने कर्णबहादुर गुरुङ, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई हाल धापासी बस्ने लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालीका–११ घर भई हाल मित्रनगरस्थित सिन्धुली गेस्ट हाउसमा बस्ने रोहित मगर, प्यूठान नगरपालिका–८ बागदुला घर भई हाल मित्रनगर बस्ने विशाल मगर, नुवाकोट शिवपुरी गाउँपालिका–६ पालथोक घर भई हाल बानियाँटार बस्ने बिनोद केसी र बर्दिया राजापुर नगरपालीका–१० घर भई हाल बालाजु बस्ने शिब सुनारलाई नियन्त्रणमा लियो ।
नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान गर्दा नयाँ रहस्य खुल्यो । पक्राउ परेकामध्ये कर्णबहादुर गुरुङ र शिव सुनार प्रहरी कर्मचारी नै रहेको तथ्य खुलेपछि अनुसन्धानमा संलग्न अधिकारीहरू नै चकित परे । गुरुङ पाटन उच्च अदालतका एक न्यायाधीशका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) र सुनार बालाजु वृत्तमा सादा पोसाकमा खटिने जवान थिए ।
गुरुङ र सुनारको यसअघि पनि पटकपटक फोनमा सम्पर्क हुँदै आएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार चिनियाँ नागरिकबारे जानकार रहेका पिएसओसहितको टोलीले आपूmहरू प्रहरी नै भएको भन्दै हतकडी लगाएर अपहरण गरेका थिए । उनीहरूले चिनियाँ नागरिक याङयाङलाई गोंगबुको स्वर्गद्वारी प्युठान होटलमा लगेर बार्गेनिङ थालेका थिए । दोभासे राई भने कपुरधारमा बस्दै आएका थिए । दोभासेले प्रहरीमा दिएको जानकारीअनुसार उनलाई न्यायाधीशका पिएसओ गुरुङले कन्चटमा पेस्तोल तेस्र्याएर चिनियाँ नागरिक याङयाङ बस्ने घरमा लैजान धम्क्याएपछि उनले घर देखाइदिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले अपहरणमुक्त गरिएका व्यक्तिको आर्थिक हैसियतका विषयमा समेत सोधखोज गरेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनी कल सेन्टर चलाएर बसेको आशंका प्रहरीको छ । प्रहरीले अपहरणकारीबाट ८ लाख १४ हजार ९ सय रुपैयाँ, विभिन्न कम्पनीका २६ थान मोबाइल सेट र हतकडी एक थान बरामद गरेको छ । एसएसपी बोहोराले भने, ‘अपहरणको सूचना आउनेबित्तिकै प्रहरी टोली परिचालित ग¥यौं । प्रहरीको सुझबुझले सकुशल रिहा गर्न सफल भयौँ । हामी थप अनुसन्धानमै छौँ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar