काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गरेकी छन् ।
मंगलबार शीतल निवासमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा राष्ट्रपतिले विभिन्न ५ सवाल उठाएकी हुन् । अन्तरक्रिया भनिएपनि लिखित सम्बोधन गरेकी राष्ट्रपतिले देशमा बढ्दो व्यापार घाटाको सन्दर्भ उठाउँदै यसको पूर्तिका लागि दुई सुझाव दिइन् । राष्ट्रपतिले फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनमा जोड दिएकी छन् ।
यस्तै राष्ट्रपतिले अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्नुपर्नेमा पनि जोड दिइन् । यस्तै उनले बौद्ध एवं सनातन सभ्यताहरूको विकास भएको मानिने हाम्रो भूखण्डसँग भएका सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न सबल शिक्षा प्रणालीको आवश्यकता रहेको बताइन् । मुलुकको सांस्कृतिक एवं सभ्यतागत पुनर्जागरणका लागि शिक्षा नै पहिलो र एक मात्र सर्त भएका उनको भनाइ छ ।
त्यसैगरी, कोभिड–१९ महामारीले समग्र स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्तिको माग गरेको पनि राष्ट्रपतिले बताइन् । स्वास्थ्य पूर्वाधार, विशेषज्ञ स्वास्थ्यकर्मीहरूको उपलब्धता, स्वास्थ्यमा जनताको पहुँच जस्ता विषयमा निकट अतितबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने खाँचो रहेको उनले बताइन् । स्वच्छ पिउने पानी‚ सरसफाई तथा सहरदेखि गाउँसम्म फोहोरको वैज्ञानिक व्यवस्थापनले मात्र समाजलाई स्वस्थ वस्नयोग्य‚ सुन्दर र वातावरणमैत्री बनाउन सकिने राष्ट्रपतिको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar