काठमाडौं – सुरक्षा निकाय विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटार हावी हुँदै आएको छ ।
सरुवा – बढुवा होस् वा अन्य वृत्तिविकासका कुरा, प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको रजाइँ चल्ने गरेको स्रोत बताउँछ । पछिल्लोपटक सशस्त्र प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) बाट बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भानुकै दबाबले पूर्णता पाएको चर्चा सशस्त्र प्रहरी वृत्तमा चलेको छ । भानुको ज्वाइँ दीपेन्द्र कुँवर (ख) एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । दुई नम्बर ज्येष्ठता क्रममा राखेर आइतबार गृह मन्त्रालयले उनलाई बढुवा गरेको छ । सशस्त्र प्रहरी निरीक्षकका रूपमा भर्ना हुँदा पनि कुँवर ७५ जनामा अन्तिम पाँचमा थिए । स्रोतका अनुसार कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाँण पनि सकारात्मक थिएनन् । तर, भानुकै दबाबमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेका छन् ।
कुँवरलाई कामु एसएसपीबाट एसएसपी बनाउन गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावलीलाई नै संशोधन गरेको स्रोतको दाबी छ । सशस्त्र प्रहरी नियमावली – २०७२ मा ‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक तहमुनिको पदमा चार वर्ष सेवाअवधि पूरा भएको हुनुपर्ने’ प्रावधान राखिएको छ । तर, कुँवरको चार वर्षे अवधि पूरा नभएकाले यसलाई घटाएर तीन वर्ष कायम गरिएको छ । कुँवरलाई कामु एसएसपी बन्न बाधा हुने भएपछि यसअघि लामो समयसम्म बढुवा नै रोकिएको थियो । हाल सशस्त्र प्रहरी बलमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) को तीन दरबन्दी रिक्त छ ।त्यसमा कुँवरलाई बढुवा गर्ने गरी हाल एसएसपीमा पहिलो नम्बरमा राखिएको सशस्त्र प्रहरीका एक उच्च अधिकृत बताउँछन् । उनले भने, ‘सशस्त्र प्रहरी निरीक्षक, डिएसपीमा निकै पछाडि रहेका कुँवर एकैपटक कसैको दबाब र प्रभावमा अगाडि ल्याउँदा सशस्त्र प्रहरीका अन्य अधिकृतको मनोबल नै गिरेको छ ।’
सशस्त्र प्रहरी नियमावलीअनुसार एसएसपीबाट डिआइजीमा बढुवा हुन स्टाफ कलेज पास गरेको हुनुपर्ने प्रावधान छ । तर, त्रिभुवन विश्वविद्यालयले लिने स्टाफ कलेजको प्रवेश परीक्षामै कुँवर दुईपटक अनुत्तीर्ण भएको सशस्त्र मुख्यालयले जनाएको छ । ‘कुँवर दुईपटक फेल भएका थिए, त्यसपछि उहाँलाई विनाप्रतिष्पर्धा नेपाली सेनाको स्टाफ कलेज कोर्सका लागि भानुकै दबाबमा सहभागी गराइएको थियो,’ सशस्त्र प्रहरी स्रोत भन्छ । सेनाको स्टाफ कलेजका लागि वर्षमा दुई जना सशस्त्र प्रहरी अधिकृतलाई पठाउने व्यवस्था छ । तर, कुँवरलाई विनाप्रतिस्पर्धा भानुकै दबाब पठाइएको स्रोतको दाबी छ ।
आइतबार भएको बढुवा सिफारिसको तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट, त्यसपछि दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भूपेन्द्र केसी र कमलप्रसाद तिउसिना रहेका छन् । बढुवा सिफारिसमा परेका सुवेदी बाराको सशस्त्र प्रहरी प्रमुख हुँदा कार्यसम्पादनमा प्रश्न उठेपछि जिम्मेवारीबाट हटाइएका अधिकृत हुन् । तिउसिनापछि नीरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धबबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल बढुवा सिफारिसमा परेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar